सिङ्गटी, ०९ माघ । दोलखाको उत्तरी सिङ्गटी बजारमा मङ्गलबारदेखि दशौँ जिल्ला .स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।
जिल्ला खेलकुद विकास समिति दोलखाको आयोजना र विगु गाउँपालिकाको सह आयोजनामा सुरु भएको प्रतियोगिताको प्रतिनिधि सभाका सदस्य एवं माओवादी केन्द्रका नेता गङ्गा कार्की विश्वले उद्घाटन गरे । यही माघ १३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा जिल्लाका २ नगरपालिका र ७ गाउँपालिकाका खेलाडीहरु सहभागि छन् । प्रतियोगितामा छात्र तथा छात्रा भलिबल, कबड्डी, मार्सल आर्टस् एवं एथलेटिक्स तर्फका विभिन्न प्रतिस्पर्धाहरु हुनेछन् ।
जिल्ला खेलकुद विकास समिति दोलखाका अध्यक्ष रामहरि शिवाकोटीको अध्यक्षतामा सम्पन्न प्रतियोगिता उद्घाटन समारोहमा जिल्ला समन्वय समिती दोलखाका प्रमुख बर्जुराम घतानी, भिमेश्वर नगरपालिकाका मेयर इश्वर नारायण मानन्धर, विगु गाउँपालिकाका अध्यक्ष सन्जिव ओली ,मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा थोकर, नेपाली कांग्रेस दोलखाका नेता एवं विगु गाउँपालिकाका निवर्तमान अध्यक्ष युधिष्ठिर खड्का, नेकपा माओवादी केन्द्रका नेता बुक्तम तामाङ लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
विगु र कालिञ्चोकले स्वर्णमा खाता खोले
प्रतियोगिताको पहिलो दिन एथलेटिक्स तर्फका दुई ओटा प्रतिस्पर्धाहरु भए । छात्र तथा छात्रा लङजम्पमा साविक विजेता विगु र कालिञ्चोक गाउँपालिकाले एक/एक स्वर्ण बाँडेका छन् ।
छात्र तर्फको प्रतिस्पर्धामा विगुका सन्तोष मगरले ५.३४ मिटर जम्प गर्दै स्वर्ण पदक पाउँदा भीमेश्वर नगरपालिकाका मानव श्रेष्ठले ५.३१ मिटर जम्प गर्दै रजत पदक प्राप्त गरे । छात्र लङजम्पको तेस्रो स्थान अर्थात कास्य पदक भने कालिञ्चोकका निशान सुवेदीले ५.१७ मिटर जम्प गर्दै आफ्नो भागमा पार्न सफल भए । त्यसैगरी छात्रा लङजम्पमा कालिञ्चोककी पूर्णिमा विकले ३.९५ मिटर जम्प गर्दै स्वर्ण पदक आफ्नो पोल्टामा पारिन् । सो स्पर्धामा ३.७६ मिटर जम्प गर्दै भीमेश्वरका प्रेमा डोल्मा शेर्पा र ३.७५ मिटर जम्प गर्दै वैतेश्वरकी सुजिना तमाङले क्रमश रजत र कास्य पदक प्राप्त गरे । मङ्गलबार नै भलिबल तर्फका दुई ओटा उद्घाटन खेल हुने भनिए पनि समय अभावका कारण हुन सकेन । भलिबल लगायत अन्य प्रतिस्पर्धाहरु बुधबार विहानदेखि सुरु हुनेछन् ।
हेर्नुहोस् तस्बीरहरु: