सिङ्गटी, ७ असोज । दोलखाको कालिञ्चोक गाउँपालिका–३, सिङ्गटीस्थित कालिनाग माध्यमिक विद्यालयका विद्यार्थीहरूले रसुवाका बाढीपीडितका लागि आर्थिक सहयोग गरेका छन् ।
विद्यालयको समन्वयमा कक्षा १ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरूले आफ्नो खाजा तथा अन्य व्यक्तिगत खर्चबाट रकम बचाएर बाढीपीडितलाई सहयोग गरेका हुन् । विद्यार्थीहरूबाट संकलित २९ हजार १ सय २० रुपैयाँ बुधबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गरिएको विद्यालयका प्रधानाध्यापक तेजबहादुर खत्रीले जानकारी दिए ।
सानो उमेरका विद्यार्थीले आफ्नै खर्च कटौती गरेर विपदमा परेकाहरूका लागि सहयोग जुटाउनु सहयोगी भावना र सामाजिक उत्तरदायित्वको उदाहरण भएको विद्यालयले जनाएको छ । विद्यालयमा पढाइने शिक्षा पाठ्यपुस्तक र परीक्षाका उत्तरमा मात्र सीमित नहुने भन्दै विपदमा परेका मानिसको दुःख बुझ्नु र आफूले सक्ने सहयोग गर्नु पनि विद्यार्थीका लागि महत्वपूर्ण सिकाइ भएको विद्यालयको भनाइ छ । “अरूको दुःखमा साथ दिनु र आवश्यक पर्दा आफूले सक्ने सहयोग गर्नु नै व्यवहारिक शिक्षाको महत्वपूर्ण पक्ष हो,” प्रधानाध्यापक खत्रीले भने ।
विद्यार्थीहरूले आफ्नो सानो खर्चबाट रकम बचाएर गरेको सहयोगले मानवीय संवेदना, सहकार्य र सामाजिक जिम्मेवारीको भावना विकास गर्न सहयोग पुग्ने विद्यालयको विश्वास छ । संकटका बेला समाजका हरेक तहबाट हुने सानो–सानो सहयोगले पीडितलाई ठूलो भरोसा दिने भएकाले सहयोगको संस्कारलाई विद्यालय तहदेखि नै प्रोत्साहन गर्नुपर्ने देखिन्छ ।


