दोलखा, ०९ असार । आफ्नै प्रशासकिय भवन निर्माणलाई उच्च प्राथमिकतामा राख्दै दोलखाको मेलुङ गाउँपालिकाले आव २०८०/८१ को बजेट सार्वजनिक गरेको छ ।
शनिबार गाउँपालिकाको कार्यालय भेड्पुमा आयोजित गाउँ सभामा उपाध्यक्ष गायत्री आचार्यले सार्वजनिक गरेको ५० करोड ८० लाख बराबरको बजेटमा पालिकाको प्रशासकिय भवन निर्माणका लागि एकमुष्ट ५ करोड विनियोजन गरिएको छ । केही समय अघि मात्रै भवन निर्माणका लागि जग्गाको व्यवस्थापन गरेको मेलुङ गाउँपालिकाको प्रशासकिय काम हाल सामान्य र साँघुरो अवस्थाका घरहरुबाट सञ्चालन हुँदै आएको छ । गाउँपालिका अध्यक्ष हिराकुमार तमाङका अनुसार सबै सुविधायुक्त आधुनिक प्रशासकिय भवन निर्माणका लागि आगामी श्रावण महिनाभित्रै ठेक्का प्रक्रिया अघि बढाईनेछ ।
त्यस्तै मेलुङ गाउँपालिकाले आगामी आव २०८०/८१ का लागि शिक्षा क्षेत्रमा पनि आकर्षक बजेट विनियोजन गरेको छ । गाउँपालिका भित्रको खस्कँदो शैक्षिक गुणस्तर सुधारका लागि ३ करोड ८१ लाख विनियोजन गरेको मेलुङले सबैका लागि शिक्षा (आधारभुत र माध्यमिक) कार्यक्रम अन्तर्गत पनि २ करोड ९९ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
त्यस्तै कृषि र जनस्वास्थ्यका विषयलाई पनि प्राथमिकताका साथ बजेट विनियोजन गरिएको गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर ७ का अध्यक्ष नवराज खड्काले जनता पेजलाई जानकारी दिए । त्यस्तै युवा स्वराजगार, लघु उद्यम विकास जस्ता शीर्षकले पनि बजेटमा प्राथमिकता पाएका छन् ।