दोलखा, १४ असार । राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा दोलखाको जनसचेतन बचत तथा ऋण सहकारी संस्थाले मैनापोखरी बजार क्षेत्रमा वृक्षारोपण गरेको छ ।
जिल्ला वन कार्यालयसँगको सहकार्यमा मैनापोखरी बजार क्षेत्रमा कल्की, धुपी, कपुर, जकाराण्डा लगायतका ५ सय विरुवा रोपिएको हो । स्वच्छ वायु, स्वस्थ जीवन, पर्यावरणीय संरक्षणमा जनसचेतनको योगदान नारा सहित आयोजित वृक्षारोपण कार्यक्रममा संस्थाका अध्यक्ष हेमन्तकुमार चौलागाईं लगायत सञ्चालक तथा कर्मचारी, वैतेश्वर ४ का वडाअध्यक्ष कुमार चौलागाईं, उद्योग वाणिज्य संघ, ईलाका प्रहरी कार्यालय, स्थानीय विद्यालयका प्रतिनिधी, व्यापारी तथा सर्वसाधारणको सहभागिता रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत नवराज दहालले जानकारी दिए ।
जनसचेतन सहकारीले विगतमा पनि मैनापोखरी बजारमा बँगैचा निर्माण तथा फोहोर व्यवस्थापनका लागि डस्टविन वितरण लगायतका गतिविधी गर्दै आएको थियो । सहकारीका सिद्दान्त मध्येको एक पर्यावरणीय जवाफदेहिता अन्तर्गत सहकारी संघसंस्थाहरुले पर्यावरण तथा वातावरण संरक्षणका क्षेत्रमा यस्ता कार्यक्रमहरु गर्दै आएका छन् ।