काठमाण्डौं, २७ असार । बुधबार विहान निधन भएकी प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड पत्नी सीता दहालको राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
सीताको पार्थिव शरिरमा पति प्रचण्ड तथा छोरीहरु रेणु र गङ्गाले संयुक्त रुपमा दागबत्ती दिए । उनको अन्तिम संस्कारमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत विभिन्न राजनीतिक दलका शीर्ष नेताहरु तथा हजारौँको सङ्ख्यामा शुभचिन्तकहरु सहभागि भएका थिए । त्यसअघि सीताको पार्थिव शरिर माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा श्रद्धाञ्जलीका लागि राखिएको थियो ।
पार्किन्सन जस्तो देखिने एक प्रकारको जटिल रोग प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.) बाट पीडित लामो समयदेखि थला परेकी दहाललाई बुधबार विहान एक्कासी हृदयघात भएपछि नर्भिक अस्पताल पुर्याइएको थियो । बिहान ८ बजे अस्पताल पुर्याईएकी सीतालाई ८ः३३ मा चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।