दोलखा । दोलखाको उत्तरपूर्वी गाउँपालिका गौरीशङ्करमा पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।
गाउँपालिकाको आयोजना तथा गौरीशङ्कर २ स्थित निलकण्ठेश्वर माविको व्यवस्थापनमा बिहिबारदेखि सुरु भएको प्रतियोगिताको प्रतिनिधी सभाका सदस्य गङ्गा कार्की विश्वले एक समारोहका बीच उद्घाटन गरे । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ सुरु भएको प्रतियोगितामा पालिकाभरका विभिन्न ६ ओटा माध्यमिक विद्यालयको सहभागिता रहेको छ । प्रतियोगितामा भलिबल, कबड्डी लगायत समूह खेल तथा एथलेटिक्स तर्फ विभिन्न दुरीका दौड, लङ्ग जम्प, हाइजम्प, ज्याभलिन थ्रो, सटपुट लगायतका खेलहरु सञ्चालन हुनेछन् ।
गौरीशङ्कर गाउँपालिकाका अध्यक्ष विश्वास कार्कीको अध्यक्षतामा सम्पन्न प्रतियोगिताको उद्घाटन समारोहमा बागमती प्रदेश सदस्य कुन्दनराज काफ्ले, जिल्ला समन्वय समिति दोलखाका प्रमुख बर्जुराम घतानी , शैलुङ गाउँपालिकाका अध्यक्ष रिमाल बाबु श्रेष्ठ, अखिल नेपाल खेलकुद महासंघ केन्द्रिय सचिवालय सदस्य एवं दोलखा जिल्ला इन्चार्ज पुष्कर कुमार अधिकारी लगायतको सहभागिता रहेको थियो । प्रतियोगिता तीन दिनसम्म चल्ने जनाइएको छ ।