चरीकोट, २८ मंसिर । दोलखाको भीमेश्वर नगरपालिकामा आयोजित सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधी कालिन्चोक माविले जितेको छ ।
चरीकोट स्थित भीमेश्वर रङ्गशालामा आइतबार सम्पन्न प्रतियोगितामा लगातार तेस्रो पटक शिल्ड उचाल्दै कालिन्चोक माविले रनिङ शिल्ड सँधैका लागि आफ्नो बनाएको छ । प्रतियोगिताको व्यवस्थापक समेत रहेको कालिन्चोक माविले उपाधीका लागि ७ स्वर्ण, ७ रजत र ५ कास्य गरी १९ पदक जितेको थियो । त्यस्तै प्रतियोगितामा चरीकोट स्थित एपेक्स इङ्ग्लिस बोर्डिङ स्कुल द्वितीय भएको छ । राष्ट्रपति रनिङ शिल्डमा पहिलो पटक सहभागि भएको एपेक्सले ४ स्वर्ण र १ रजत पदक जितेको थियो । त्यसैगरी ३ स्वर्ण, २ रजत र ४ कास्य जितेको कुटिडाँडा मावि मकैबारी तृतीय भएको छ ।
त्यस्तै, प्रतियोगितामा सुर्के मावि खरिढुङ्गाले ३ स्वर्ण, २ रजत र २ कास्य, मोडर्न नेपाल स्कुल चरीकोटले ३ स्वर्ण र २ कास्य, महेन्द्रोदय मावि माटीले २ स्वर्ण, १ रजत र १ कास्य, आँकुरा इङ्ग्लिस बोर्डिङ स्कुलले २ स्वर्ण र २ कास्य पदक जितेका छन् । कुल २० ओटा मावि सहभागि प्रतियोगितामा माउन्ट भ्याली इङ्ग्लिस बोर्डिङ स्कुल, बुढाभिमसेन मावि धरमघर र सेतीदेवी मावि काउले भने उपाधी बिहिन बने । प्रतियोगिताका बिजेता विद्यार्थी तथा विद्यालयलाई बागमती प्रदेश सभाका सदस्य एवम् पूर्व आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्ले, भीमेश्वर नगरपालिकाका प्रमुख इश्वर नारायण मानन्धर लगायतले पुरस्कार वितरण गरेका थिए ।
हेर्नुहोस्, अन्तिम पदक तालिका




