दोलखा, २४ पौष । दोलखा जिल्ला स्तरीय दशौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उत्तरी सिङ्गटी बजारमा हुने भएको छ ।
साबिक विजेता विगु गाउँपालिकाको व्यवस्थापनमा आगामी माघ ५ गतेदेखि हुने प्रतियोगिता सिङ्गटी स्थित खोलिखिम खेल मैदानमा सञ्चालन हुनेछ । प्रतियोगिताको तयारी स्वरुप मङ्गलबार सिङ्गटीमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष रामहरि शिवाकोटी सहितको टोलीले सरोकारवालाहरुसंग छलफल गरेको छ । छलफल कार्यक्रममा विगु गाउँपालिकाका अध्यक्ष सञ्जीव ओली, सिङ्गटी उद्योग वाणिज्य संघका अध्यक्ष महेश श्रेष्ठ, होटल व्यवसायी एवं स्थानीय संघसंस्थाहरुको सहभागिता रहेको थियो ।