दोलखा, १४ असोज । प्रहरीले दोलखाबाट आइतबार थप ४ केजी सुन बरामद गरेको छ ।
जिल्लाको उत्तरी विगु १ लामावगर स्थित स्थानीय आङफुर्वा शेर्पाको बारी नजिकै ठूलो ढुङ्गा माथि झारले छोपेर राखेको अवस्थामा थप चार केजी सुन बरामद गरिएको इलाका प्रहरी कार्यालय सिङ्गटीका प्रमुख प्रहरी निरिक्षक विक्रम लामाले जानकारी दिए । गत बुधबार विगु ३ जामुनेबाट चार केजी सुन बरामद भएसँगै दोलखा प्रहरीले केन्द्रिय अनुषन्धान ब्युरो (सिआइबी) र सशस्त्र प्रहरी समेतको सहभागितामा खोजतलास र छानविन तीब्र पारेको थियो । सो क्रममा गत शुक्रबार पनि जामुनेबाटै ३ केजी सुन फेला परेकोमा आइतबार थप ४ केजी बरामद भएको हो । योसँगै पछिल्लो एक साता भित्र दोलखाबाट मात्रै ११ केजी सुन प्रहरीले बरामद गरेको छ भने यो प्रकरणमा मुछिएका ७ जना पक्राउ परेका छन् । आइतबार लामावगरबाट स्थानीय ३० वर्षका चसमान तमाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
हालै दोलखाको लामावगर लप्चीसँग जोडिएको फ्लाक नाका खुलेसँगै सुन तस्करी घटना सार्वजनिक भएपछि त्यससँग जोडिएका फरार व्यक्तिहरुको खोजीमा प्रहरी सक्रिय बनेको छ । तर अहिलेसम्म पक्राउ परेकाहरु सबै दोलखाका नागरिक मात्रै रहेका छन्, सुन तस्करीको मूख्य गिरोह पत्ता लाग्न सकेको छैन ।