दोलखा, १७ असार । मनसुनी प्रणाली थप सक्रिय बन्दै गएकाले सम्भावित मौसमी जोखिमबाट बच्न उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभान, मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
मनसुन थप सक्रिय भइ आगामी बिहिबारसम्म देशका धेरैजसो ठाउँमा वर्षा हुने महाशाखाले जनाएको छ । धेरै पानी पर्न सक्ने र यसअघिदेखि नै पानी परिरहेका ३४ जिल्लालाई महाशाखाले उच्च जोखिमयुक्त जिल्लाको सूचिमा राखेको छ । बागमती प्रदेशका दोलखा, सिन्धुपाल्चोक, मकवानपुर र चितवन जिल्ला उच्च जोखिमयुक्त जिल्लाको सूचिमा समावेश छन् । त्यस्तै कोशी प्रदेशका ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा, तेह्रथुम, मोरङ, झापा, सुनसरी, इलाम, धनकुटा, भोजपुर, खोटाङ, सोलुखुम्बु र ओखलढुङ्गा उच्च जोखिममा छन् । गण्डकी प्रदेशका म्याग्दी, बागलुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवलपरासी पूर्व र लमजुङ तथा लुम्बिनीका कपिलवस्तु, रुपन्देही, पाल्पा, अर्घाखाँची, गुल्मी, प्युठान, नवलपरासी पश्चिम, रोल्पा र रुकुम पूर्व पनि उच्च जोखिमको सूचिमा रहेका छन् ।
यी जिल्लामा ठूलो पानी पर्ने सम्भावना रहेकाले ठाउँठाउँमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलामा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।