दोलखा, २४ पौष । गत पौष १३ गतेदेखि सुरु भएको बृहत दोलखा महोत्सब २०८० मङ्गलबार सम्पन्न भएको छ ।
“दोलखा महोत्सवको दिव्य दृष्टि, आर्थिक क्रान्तिको नयाँ सृष्टि” भन्ने मूल नाराका साथ दोलखा उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सव सुरुमा १० दिन चल्ने भनिए पनि दुई दिन थपिँदै १२ दिनसम्म चलेको थियो । सदरमुकाम चरिकोट स्थित टुँडिखेल मैदानमा आयोजित महोत्सवको एक लाख भन्दा बढीले अवलोकन गरेको र करिब ५ करोडको कारोबार भएको आयोजकको दावी रहेको छ । महोत्सव अवलोकनका लागि जिल्लाका विभिन्न स्थान एवं राजधानी काठमाण्डौ र छिमेकी जिल्लाहरुबाट समेत आगन्तुकहरु आएको सघका महासचिव शुरेस उप्रेतीले जानकारी दिए ।
प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले उद्घाटन गरेको महोत्सवमा कृषि तथा घरेलु उद्योगका उत्पादन, खानाका परिकार एवं विभिन्न कम्पनीका उत्पादन राखिएका एक सय पचास ओटा स्टलहरु रहेका थिए । महोत्सव अवधीभर राष्ट्रिय तथा स्थानीय कलाकारहरुको साङ्गितिक एवं साँस्कृतिक प्रस्तुती समेत रहेको थियो ।