सिङ्गटी, २३ माघ । दोलखाको गौरीशङ्कर गाउँपालिका वडा नम्बर ९ सिमिगाउँमा सुविधा सम्पन्न स्वास्थ्य चौकी भवन निर्माण भएको छ ।
सघन सहरी तथा भवन निर्माण आयोजनाको तीन करोड लगानीमा निर्मित दुई तले पक्की भवनको मङ्गलबार गौरीशङ्कर गाउँपालिकाका अध्यक्ष विश्वास कार्कीले उद्घाटन गरे । २०७८ सालको साउन महिनाबाट निर्माण सुरु भएको भवन निर्माण सम्पन्न भएसँगै विकट सिमिगाउँको स्वास्थ्य सेवा प्रवाहमा थप टेवा पुग्ने विश्वास गरिएको छ । २०७२ सालको भुकम्पका कारण भत्किएको स्वास्थ्य चौकी अस्थायी भवनबाट सञ्चालन हुँदै आएकोमा सुविधा सम्पन्न भवन निर्माण भएपछि स्थानीयहरु खुसि भएका छन् । गाउँपालिकाको बेदिङ, ना गाउँ हुँदै च्छोरोल्पा हिमतालसम्म जाने पदमार्गमा पर्ने सो स्वास्थ्य चौकीबाट सिमिगाउँ र आसपासका बासिन्दाहरुले स्वास्थ्य सेवा लिँदै आएका छन् ।
![Ads](https://janatapage.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-06-at-20.21.07_58a66bc6.jpg)
![Ads](https://janatapage.com/wp-content/uploads/2023/06/250x2503.gif)
भवन उद्घाटन समारोहमा गौरीशङ्कर ९ का वडाध्यक्ष निमगेली शेर्पा, वडा नम्बर २ का वडाअध्यक्ष रोहित बुढाथोकी, वडा नम्बर ३ का वडाध्यक्ष युग बहादुर बस्नेत, सिमिगाँउ स्वास्थ्य चौकीका इन्चार्ज धर्मेन्द्र हमाल लगायतको सहभागिता रहेको थियो । कार्यक्रमका अवसरमा स्वास्थ्य चौकी भवन निर्माणका लागि जग्गा दान गर्ने स्थानीय चने शेर्पालाई सम्मान गरिएको थियो ।
![Ads](https://janatapage.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-06-at-19.07.05_638dc152.jpg)