चरिकोट, ०२ जेठ । दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर १ पवटीमा मलामी बोकेको गाडी दुर्घटना हुँदा १६ जना घाइते भएका छन् ।
सोही गाउँपालिका वडा नम्बर ३ ढाँडे कुनेबाट मलामी र दाउरा लिएर तामाकोशी तर्फ आइरहेको बागमती प्रदेश ०१, ०२६ च ९८१३ नम्बरको बोलेरो गाडी सत्यश्वर–सिम्टे सडक खण्डको भटमासेमा विहान करिव पौने नौ बजे दुर्घटना भएको हो । दुर्घटनामा परी घाइते भएका मेलुङ ३ का ५८ वर्षका टिकाबहादुर कार्की, ५० वर्षका अर्जुन खड्का, ५५ वर्षका अर्जुन कार्की, ६५ वर्षका पुष्प बहादुर कार्की, ४० वर्षका डिल्ली बहादुर कार्कीको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । अर्का एक घाइतेको काठमाण्डौमा उपचार भइरहेको र सबै घाइतेको अवस्था खतरामुक्त रहेको चिकित्सकलाई उध्दृत गर्दै मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा कुमार तमाङले जानकारी दिए । अन्य घाइतेको सदरमुकाम चरिकोट स्थित पशुपति चौलागाईं स्मृति अस्पतालमा उपचार भइरहेको छ ।
ओरालो सडकमा दाउरा र क्षमता भन्दा बढी मानिस सवार भएकोले ब्रेक फेल भएर अनियन्त्रित भइ गाडी दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ । मङ्गलबार गाउँकै एक जनाले आत्महत्या गरेको र उनको शव पोष्टमार्टम पछि सदरमुकामबाट चरणावती त्रिवेणी रामघाटमा दाहसंस्कारका लागि ल्याइने भएपछि सोही कार्यका लागि दाउरा लिएर मलामी जाँदै गरेको गाडी दुर्घटना भएको हो ।