चरीकोट, ३० माघ । दोलखा सदरमुकाम चरीकोटमा आगामी फागुन ६ गतेदेखि सन्चालन हुने बृहत दोलखा महोत्सव २०८१ को तयारी तीब्र पारिएको छ ।
दोलखा उद्योग वाणिज्य संघको मूख्य आयोजनामा हुन लागेको महोत्सव सदरमुकाम चरीकोट स्थित भीमेश्वर रङ्गशालामा सन्चालन हुनेछ । महोत्सवका लागि अहिले महोत्सव स्थलमा भौतिक निर्माणका कार्यहरु भइरहेका छन् । ‘महोत्सवका लागि घेराबार, स्टल निर्माण लगायतको काम ५० प्रतिशत भन्दा बढी सकिएको छ,’ संघका महासचिव सुरेस उप्रेतीले जनतापेजसँग भने, ‘खेलकुद र मनोरञ्जनका सामाग्री जडानको काम पनि एकैसाथ भइरहेको छ ।’ साथै जिल्लाका विभिन्न स्थान र जिल्ला बाहिर समेत प्रचारप्रसार एवम् निमन्त्रणाको कार्य पनि भइरहेको छ । संघको प्रतिनिधि मण्डलले राजधानी काठमाण्डौ लगायत विभिन्न ठाउँमा महत्वपूर्ण संघसंस्था र व्यक्तिहरुलाई भेटेर महोत्सव अवलोकनको निमन्त्रणा गरिरहेका छन् ।


फागुन १८ गतेसम्म चल्ने महोत्सवमा विभिन्न बहुराष्ट्रिय कम्पनीदेखि स्थानीय स्तरमा उत्पादित सामाग्रीहरुको प्रदर्शनी तथा विक्रि, राष्ट्रियस्तरका कलाकारहरुद्वारा विविध साँस्कृतिक प्रस्तुती र प्रतिस्पर्धा, विविध मनोरञ्जनका गतिविधि, स्थानीय मौलिक खानाका परिकारहरुको प्रदर्शनी तथा विक्रि वितरण लगायत विभिन्न गतिविधिहरु हुनेछन् ।
जिल्लाको खस्किँदो आर्थिक अवस्थालाई माथि उठाउने, सुनसान बनेका बजारहरुलाई चलायमान बनाउने, जिल्लाको धार्मिक एवं साँस्कृतिक स्थलहरुको प्रवद्र्धन गर्ने, जिल्लामा उत्पादित रैथाने खाना, कृषि तथा काष्ठजन्य सामाग्रीको प्रदर्शन गर्ने लगायतका उद्देश्यका साथ आयोजना गरिएको महोत्सवको एक लाख भन्दा बढीले अवलोकन गर्ने अपेक्षा राखिएको मूल आयोजक दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष इन्द्र श्रेष्ठले बताए ।
भीमेश्वर नगरपालिकाको संरक्षकत्व र जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय लगायत जिल्लाका सबै स्थानीय तहहरू संयुक्त आयोजक रहेको महोत्सवको उद्घाटन बागमती प्रदेशका मूख्य मन्त्री बहादुर सिंह लामा र समापन बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दन काफ्लेले गर्ने तय भएको छ ।
