चरीकोट, ०६ फागुन । दोलखा सदरमुकाम चरीकोटमा मङ्गलबारदेखि तेस्रो बृहत दोलखा महोत्सव सुरु हुँदैछ । महोत्सवको बागमती प्रदेशका मूख्यमन्त्री बहादुर सिंह लामाले उद्घाटन गर्दैछन् ।
महोत्सवका लाग आवश्यक सबै तयारी पूरा भएको मूख्य आयोजक दोलखा उद्योग वाणिज्य संघका महासचिव सुरेस उप्रेतीले जानकारी दिए । चरीकोट स्थित भीमेश्वर रङ्गशालामा हुने महोत्सवमा १३२ ओटा स्टलहरु रहने छन् । स्टलहरुमा कृषि, घरेलु उद्योग, हस्तकला, लगायत स्थानीय उत्पादनदेखि राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनीका सामानहरु प्रदर्शनी तथा विक्रिवितरण गरिनेछ ।


फागुन १८ गतेसम्म सन्चालन हुने महोत्सवमा विविध साँस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम हुनेछन् भने नृत्य, गायन, ब्याडमिण्टन विभिन्न प्रतियोगिताहरु पनि सन्चालन हुनेछन् । महोत्सवमा दैनिक रुपमा ख्यातीप्राप्त राष्ट्रिय कलाकारहरुको विशेष प्रस्तुती समेत रहनेछ । महोत्सवको अवसर पारेर दोलखाका होटल व्यवसायीहरुले २५ प्रतिशत छुट सुविधा दिएका छन् भने रोल्वालिङ यातयातले भाडामा १५ प्रतिशत, कालिन्चोक केबलकारले १० प्रतिशत, इलेक्ट्रिक सवारी साधनले १० प्रतिशत, स्थानीय ट्याम्पु सेवाले १० प्रतिशत भाडा छुट दिने भएका छन् ।
टिकटमा छुट र अफर, बम्परमा स्कुटर उपहार
दोलखा महोत्सवमा काटिने टिकटमा बम्पर उपहारको रुपमा स्कुटर पाइने भएको छ । महोत्सव अवलोकनका लागि प्रतिव्यक्ति १०० रुपैयाँमा खरिद गरिने टिकट स्वतः बम्पर उपहार कार्यक्रमका लागि योग्य हुनेछ । प्रत्येक योग्य टिकट मध्येबाट महोत्सवको अन्त्यमा चिठ्ठा मार्फत स्कुटर, टिभी लगायत विभिन्न उपहारहरू प्रदान गरिने आयोजकले जनाएको छ ।
विद्यार्थीहरूका लागि टिकटमा ५० प्रतिशत छुट दिइनेछ भने ज्येष्ठ नागरिक र फरक क्षमताका व्यक्तिहरुलाई निशुल्क रुपमा टिकट उपलब्ध गराईनेछ । त्यस्तै दोलखा उद्योग वाणिज्य संघका सदस्यलाई प्रति सदस्य ५ ओटा टिकट निशुल्क उपलब्ध गराइनेछ । तर निशुल्क उपलब्ध गराइएका टिकट बम्पर उपहार कार्यक्रममा भने सहभागि नहुने जनाइएको छ । यो पटकको महोत्सव एक लाख भन्दा बढीले अवलोकन गर्ने आयोजकको अनुमान छ ।
