चरीकोट,११ भदौ । दोलखाको भीमेश्वर नगरपालिका ६ मा मङ्गलबार साँझ भएको सवारी दुरघटनामा दुई युवकको मृत्यु भएको छ ।
साँझ करिव ९ बजे काठमाडौं तर्फबाट चरीकोट बजारतर्फ गइरहेको बा ५३ प ८८९९ र विपरित दिशाबाट आइरहेको बा.प्र.०२–०३४ प ३२४२ नम्बरको मोटरसाइकल लामोसाँघु–जिरी सडकखण्ड अन्तर्गत रमितेडाँडामा आपसमा ठोक्किएर भएको दुर्घटनामा भीमेश्वर ५ का २४ वर्षका शिरिष बस्नेत र सोही मोटरसाइकलमा सवार बैतेश्वर ३ का २६ वर्षका सुजन उर्फ श्याम बहादुर दाहाल खत्रीको मृत्यु भएको हो । भिमेश्वर नगरपालिका वडा नम्बर ५ का निवर्तमान वडाध्यक्ष रामचन्द्र बस्नेतका एक मात्र छोरा शिरिष गौरीशङ्कर क्याम्पस चरीकोटका स्ववियू सभापति समेत हुन् भने दाहाल चरीकोटको एक होटलमा कार्यरत थिए । दुर्घटनास्थलबाट उद्धार गरी स्थानीय च्छोरोल्पा अस्पतालमा पुर्याइएकोमा केही समयमै चिकित्सकले मृत घोषणा गरेका थिए ।
दुर्घटनामा ३२४२ नम्बरको मोटरसाइकलमा सवार बैतेश्वर गाउँपालिका–५ का २५ वर्षीय निर्मल खड्का भने सामान्य घाइते भएको र उनलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी श्रीराम तिमल्सिनाले जानकारी दिए ।



