दोलखा, ०१ असार । नेपाल सरकारका उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ दोलखा आएका छन् । नेकपा माओवादी केन्द्र दोलखाको नवनिर्मित पार्टी कार्यालय उद्घाटन तथा अगुवा कार्यकर्ता प्रशिक्षण लगायतका विभिन्न कार्यक्रमका लागि श्रेष्ठ दोलखा आएका हुन् ।
स्थलमार्ग मार्फत दोलखा आएका गृहमन्त्री श्रेष्ठ सदरमुकाम चरिकोट स्थित एक होटलमा बसेका छन् । उनी शनिबार विहान दोलखा बजारको भ्रमण तथा नेवार समुदायसँग भेटघाट गर्ने र त्यसपछि विभिन्न कार्यक्रमहरुमा सहभागि हुने कार्यक्रम रहेको माओवादी केन्द्र दोलखाले जनाएको छ । शनिबार विहान १० बजे माओवादी केन्द्र दोलखाको नवनिर्मित पार्टी कार्यालयको उद्घाटन र त्यसपछि सहिद रितबहादुर खड्काको २१ औँ स्मृती दिवस तथा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम तय गरिएको छ । त्यसअघि विहान नै जिल्ला स्थित सुरक्षा निकायका प्रमुख तथा जनप्रतिनिधिहरु र जिल्लाका उद्योगी व्यवसायीहरुसँग पनि गृहमन्त्री श्रेष्ठले छलफल गर्ने कार्यक्रम तय भएको जनाइएको छ ।


