साउन महिनाको १५ गते अर्थात खिर खाने दिन । हरेक वर्षको साउन १५ गते खिर खाने चलन परापुर्व कालदेखि चलिआएको छ । साउन १५ गते किन खिर खाइन्छ त? यस विषयमा सबैलाई थाहा नहुन पनि सक्छ ।
धार्मिक विश्वास अनुसार साउन १५ गते खिर खाने चलन यसरी चलेको थियो । कुनै एक समयको कुरा हो ,भगवान गणेशलाई पृथ्वीमा आएर त्यहाँका मानिसहरु के गर्दै छन्, उनीहरूको चालचलन कस्तो छ भनेर बुझ्न मन लागेछ । अनि गणेश आफ्नो रुप बदलेर एउटा सानो पाँच सात वर्षको बालकको रुपधारण गरेर एउटा हातमा चामलको एक गेडा र अर्को हातमा एउटा चम्चामा एक थोप दूध लिएर पृथ्वीमा आइ मानिसहरुको बाक्लो बस्ती भएको एउटा गाउँमा जानुभएछ र त्यहाँका मानिसहरुलाई भन्नू भएछ, “म सँग एक गेडा चामाल र एक थोपा दूध छ, मलाई पेटभरि अघाउन्जेल खिर खान असाध्यै मन लागेको छ, तपाईंहरु मध्ये कसैले मलाई खिर बनाएर खुवाउनुहोस न ।” गाउँका मानिसहरुले भने तिमीसँग एक गेडा चामल र एक थोपा दूध छ, अनि हामीले कसरीअघाउनजेल खिर खान दिनु भनेर खिसी खरेर उनको भनाइलनई हाँसोमा उडाइ दिएछन् । बालक रुपधारी गणेशले भन्नूभएछ ठिकै छ तपाईहरुले नखुवाए अर्को गाउँमा जान्छु भनेर त्यहाँबाट अर्को गाउँ तिर लाग्नु भएछ ।
अर्को गाउँमा पनि उनको भनाइलाई पहिलो गाउँका मानिसले जस्तै हाँसो र खिसीमा उडाइदिएछन् । त्यहाँबाट पनि ती बालक अर्को गाउँमा गएर अघि दुईवटा गाउँमा भने जस्तै कुरा गरेछन् । त्यस गाउँको एउटा मानिसले बालक रुपधारी भगवान गणेशलाई हकार्दै भनेछ, मुर्ख बालक तँ सँग एक गेडा चामल र एक गोपा दूध छ, अनि खिर चाहीँ कसरी पेटभरि खुवाउनु, तँ यहाँबाट गइहाल् र ती बालक रुपधारी गणेश खुवाउन सक्दैनौं भनेको भए भइहाल्थ्यो, यसरी किन हकारेर गाली गरेको होला भन्ने कुरा मनमनै खेलाउँदै अर्को गाउँमा पुग्नु भएछ ।
त्यस गाउँमा एउटा सानो झुपडीमा एक जना वृद्ध महिला बस्ने गरेकी थिइन् । भगवान गणेश त्यस घरमा पुगेर ती वृद्धासँग अरु गाउँका मानिसहरुसँग जस्तै “आमै मलाई असाध्यै खिर खान मन लागेको छ, मसँग एक गेडा चामाल र एक थोपा दूध छ, तर मलाई अघाउन्जेल पेटभरि खिर खान मन लागेको छ, तपाईं मलाई खिर पकएर खुवाउन सक्नु हुन्छ त?” ती वृद्ध महिलाले मनमनै सोचिछन, एउटा सानो बालकले खिर खान मन गरिहालेछ, मसँग पनि थोरै दूध र एक मुठी जति चामल होला, उसँग पनि एक गेडा चामल र एक थोपा दूध रहेछ, त्यसैमा थपेर खिर पकाएर खुवाउनु पर्यो भन्ने सोचेर भनिछन्, “ठिकै छ बाबु तिमीलाई असाध्यै खिर खान मन लागेको रहेछ, म सँग पनि थोरै चामल र दुध छ, त्यो तिमीसँग भएको पनि मिसाएर खिर बनाएर खुवाउँला नि ।”
बालक रुपधारी गणेश मनमनै खुसी हुँदै यो गाउँमा चाहीँ एक जना वृद्धा महिला भए पनि अरुको दुख पीडा बुझ्ने साँच्चिकै मानिस नै बसेकी रहिछन भन्ने सोच्दै भनेछन्, “आमा दूध थाप्ने एउटा कचौरो ल्याउनुहोस त म दूध खन्याइदिन्छु ।” यति कुरा सुनेपछि ती वृद्ध महिला घर भित्र गइन् र एउटा कचौरो लिएर बाहिर आइन र दध थापिन, बालकले कचौरामा दूध खन्याइदिए तर दूध त कचौरो भरिएर अझै चम्चामा बाँकी नै रह्यो, बालकले अर्को भाँडो ल्याउनुहोस भने, वृद्धा भित्र गइन र एउटा डेक्ची ल्याइन, त्यो पनि भरियो, पालैसँग भित्र जाँदै दूध थाप्न मिल्ने जति सबै भाडा ल्याइन, सबै भाँडा दुधले भरिए । त्यसपछि बालकले भने, “आमै एउटा सानो चामल थाप्ने भाँडो ल्याउनुहोस,” वृद्ध महिलाले एक गेडा चामल त होनि भनेर सानो कचौरा लिएर आइन्, बालकले चामल कचौरामा खन्याए, चामल कचौरामा अटेन, बालकले अरु भाँडो ल्याउनुहोस् भने, वृद्ध महिलाले पालैसँग आफुसँग भएको डालो, थैलो सबै ल्याइन्, घरमा भएका सबै भाँडाकुँडा चामलले भरिए । बालकको हातमा त एक गेडा चामल र चम्चामा एक थोपा दूध थियो, तर चामल र दुधले घरम्ँ भएका सबै भाँडाहरु भरिएको देख्दा वृद्धा महिला आश्चर्यचकित भइन् ।
अनि वृद्धा महिलाले भनिन्, “बाबु चामल र दूध त टन्नै भयो, अब खिर कति पकाउनु? बालकले भने आमा धेरै पर्दैन, एउटा सानो कचौरोमा पकाउनुहोस, तपाईंले खिर पकाउन्जेल म नदिमा गएर स्नान गरेर आउँछु ।” यति भनेर बालक नजिकैको नदिमा स्नान गर्न गए । यता वृद्ध महिला बालकले भने जस्तै सानो कचौरामा खिर पकाउन थालिन । उनले खिर पकाउन थालेपछि त्यो खिरको बासना यस्तो फैलियो कि सारा गाउँभरि हरहरि भयो । गाउँलेहरु आज यति मिठो खिरको बासना कहाँबाट आइरहेको छ भनेर एक आपसमा सोधिखोजी गर्न लागे । सोद्धै खोज्दै जाँदा वृद्धको सानो झुपडीबाट खिर पकाएको बासना आएको रहेछ भन्ने थाहा पाए । कहिल्यै एक छाक भात समेत राम्रोसँग नपाक्ने त्यस्ती गरिब वृद्धाको घरमा खिर कसरी पाक्यो भनेर अचम्म मान्दै खास कुरो के रहेछ पत्ता लगाउन गाउँका सबै मानिसहरु वृद्धाको घरमा जम्मा भए ।
यता ति वृद्धाकी एउटी बुहारि पनि थिइन, उनी धेरै पहिलेदेखि नै सासुलाई एक्लै छाडेर अर्कै घरमा छुट्टिएर बसेकी थिइन । सासुसँग बोलचाल समेत थिएन, तर आज एक्कासि बुढी सासुको घरमा खिर पाकेको बासना आउँदा उनी पनि चकित परिन् र खास कुरा बुझ्न सासुको झुपडीमा गइन् । वृद्धा महिला कुरा बुझ्न आएका गाउँका मानिसहरुसँग दूध, चामल जम्मा भएदेखि खिर पकाउँदा सम्मको सबै कहानी भन्न थालिन । उता बुहारीलाई भने त्यस्तो मिठो बास्ना आएको खिर कति बेला खाउँ जस्तो भइरहेको थियो र उनी कसरी घरभित्र छिर्नु भन्ने दाउ हेर्दै थिइन । सासू गाउँलेहरुसँग कुरा गर्न व्यस्त भएको मौका छोपेर बुहारी सुटुक्क घर भित्र पसिन् र हत्तपत्त कचौरामा भएको खिर खान लागिन् । बुहारीले खिर मुखमा हाल्नै लाग्दा एक सितो खिर भुइँमा खस्यो, त्यहि खिरको एक सितो बालक रुपधारी भगवान गणेशलाई अर्पण भयो ।
सासुले बाहिर गाउँलेहरुसँग कुरा सक्दा नसक्दै बुहारीले सबै खिर खाइ सकेर खालि कचौरो राखेर बाहिर आइन् । त्यति नै बेला ती स्नान गर्न गएका बालक पनि टुप्लुक्क वृद्धाको घरमा आइपुगे । बालक स्नान गरेर आएको देखेर वृद्धाले भनिन, “बाबू मैले अघि नै खिर पकाइ सके,चिसो हुन लागि सक्यो, म खिर पस्कि दिन्छु तिमी खान तयार होऊ” भन्दा बालकले हाँस्दै भने, “आमा मैले त खिर अघि नै खाएर तृप्त भइसकें ,अब तपाई खानुहोस र यी जम्मा भएका सबै मानिसहरुलाई पनि खान दिनुहोस ।” वृद्धले मनमनै सोचिन्, यो बालकले के भनेको हो, मैले खिर दिएकै छैन, त्यतिकै मैले खाएँ, तृप्त भएँ भन्छ । अनि एउटा सानो कचौरामा पकाएको खिर सबै मानिसहरुलाई खान दिनुहोस भन्छ । यति धेरै मानिसहरुलाई मैले त्यति थोरै खिर कसरी पुर्याउनु? नदिउँ भनेपनि बालकले सबैलाई दिनु भनिहाल्यो भन्ने सोच्दै भित्र गइन् ।
भित्र जाँदा त खिर त एउटा ठूलो खडकौंलोभरि पो छ । कचौरोभरि पनि छ । मैले त कचौरामा मात्र पकाएको, अर्को खड्कौंलो भरि कसरी पाक्यो भनेर छक्क पर्दै वृद्धाले बालकले भने झै घरमा जम्मा भएका सबैलाई पेटभरि खिर खुवाइन् । खिर जति झिके पनि खड्कौंलोमा भरिई नै रहन्छ, अलिकति पनि घट्दैन । यस्तो चमत्कार देखेर वृद्धा महिला झन छक्क परिन् । गाउँका सबै मानिसहरु पेटभरि खिर खान पाएकोले मनमनै वृद्धालाई धन्यवाद दिँदै आआफ्नो घरतिर लागे । सबै गइसकेपछि वृद्धाले पनि खिर खाइन । वृद्धाले खिर खाइसकेपछि बालकले भने, “आमा गाउँका अरु कसैले पकाउन र खुवाउन नमानेका, तपाईं वृद्धा आमाले अत्यन्तै मिठो खिर बनाएर खुवाउनु भयो, म धेरै प्रसन्न र खुसी भएँ, अब जान्छु ,तपाईं राम्रोसँग बस्नु होला र खाएर बाँकी रहेको खिरलाई बेलुका साँझपख केराको पातमा चार भाग लगाएर घरको चार कुनामा राखिदिनु होला भनेर बालक आफ्नो बाटो लागे ।
बेलुका साँझ परेपछि वृद्धा महिलाले पनि बालकले भने जस्तै गरि बाँकी रहेको खिरलाई केराको पातमा चार भाग लगाएर घरको चार कुनामा राखिन र सुतिन् । राति सपनामा भगवान गणेशले आफ्नो रुप दर्शन दिएर दिउँसो आएको बालक अरु कोही नभएर आफू अर्थात भगवान गणेश रहेको बताउँदै भने, म तपाईंदेखि अतिनै खुसी भएँ, गाउँमा यति ठुलो मानव बस्ती भएर पनि मानवरुपी दया माया नभएका मानिसहरू मात्र बस्दा रहेछन् । वृद्धा भएर पनि मनमा दया र माया भएको तपाई एकजना मात्र पाएँ, त्यसैले म तपाईंदेखि ज्यादै खुसी र प्रसन्न छु, अब तपाईंलाई कुनै दुख कष्ट हुनेछैन, सबै शुभैशुभ हुनेछ, तपाईंको मनमा सँधै यस्तै दया र माया पलाइरहोस । कतै केही बाधा व्यवधान आइपरे मनले मलाई सम्झिनुहोला भनेर गए ।
वृद्ध महिला निन्द्राबाट झल्याँस्स ब्युँझिन् र यसो बाहिर हेरिन् उज्यालो भइसकेको रहेछ । उनी उठिन् र मनमनै भगवान गणेशलाई सम्झँदै अघिल्लो साँझमा घरको चार कुनामा राखेको खिर हेर्छिन् त ती सबै चारै कुनाको खिर त हिरामोती, सुन चाँदि भएर पो केराको पात भरि भएछन् । वृद्धा महिलाले भगवान गणेशलाई सम्झँदै अब आफ्नो दुखका दिन गएछन् क्यारे भन्ने ठान्दै खुसी हुँदै ती सबै हिरामोती र सुनचाँदी जम्मा गरेर घरमा राखिन् । जम्मा गरेका हिरा मोति सुनचाँदी मध्य केही बजारमा लगेर बेचिन् र त्यसबाट आएको पैसाले एउटा सुन्दर घर बनाइन्, घरमा आवश्यक सबै सामानहरु किनिन्, घरको मुल ढोका अगाडि एउटा गणेशको मुर्ति स्थापना गरिन् र नित्य पुजा आरधाना गर्न थालिन् ।
यसरी एउटी सबैले हेला गर्ने गरिब वृद्धा महिला बालक रुपधारी भगवान गणेश र गाउँका सबै मानिसहरूलाई खिर पकाएर खुवाएकोले सुखी र सम्पन्न बनिन ।ती वृद्धले खिर पकाएर खुवाएको दिन साउन महिनाको १५ गते थियो र त्यसैबेलादेखि साउन १५ गते खिर खाने चलन रहिआएको जनविश्वास रहेको छ । हिजोआज पनि साउन १५ गते खिर पकाएर पहिला भगवान गणेशलाई अर्पण गर्ने र पुगे र भएसम्म गाउँका अरु मानिसहरुलाई पनि खिर खान दिने र आफूले खाने गरेमा भगवान गणेश खुसी हुने साथै सबै विघ्नवाधाहरु हटेर सुख सम्पत्ति प्राप्त हुने धार्मिक विश्वास गरिन्छ । कुनै कारणवश साउन १५ गते खान नपाए पनि साउन महिनाभित्र कुनै अर्को दिन भएपनि खिर पकाएर बाँडे र आफुले खाएमा पनि भगवान गणेश खुसी हुने जनविश्वास रहेको छ ।
यस्तै अर्को धार्मिक विश्वास भनेको कुनै एउटा अत्यन्तै धनी घर परिवारकी महिला बिहे गरेको लामो समय सम्म पनि गर्भवती भइनन् । बिहे गरेको धेरै वर्ष समयसम्म पनि आफू गर्भवती नभएपछि छिट्टै गर्भवती भएर एउटा छोरो पाउन सकुँ भनेर उनी विभिन्न मठ मन्दिरमा गएर विभिन्न देवी देवताहरुको पूजा गर्ने र ब्रत बस्ने गर्न थालिन । यसरी मन्दिरमा गएर पूजा गरेर आउने क्रममा बाटोमा आउँदै गर्दा उनलाई थाकेको महशुश भयो र एक छिन थकाई मार्न भनी उनी एउटा ठूलो पिपलको फेदमा बनाएको चौतारोमा बसिन् । पिपलको रुखलाई हेर्दै भनिन्, “हे कल्प वृक्ष, म बिहे गरेको लामो समय सम्म पनि गर्भवती हुन सकिन, जसले गर्दा दिन प्रतिदिन म घरपरिवारबाट अपहेलित बन्दै गएको छु, मलाई जसरी पनि गर्भवती बन्न सक्ने र छोरो जन्मिने आशिर्वाद दिनुहोस्, यदि मैले भने जस्तै भयो भने म तपाईंलाई मिठो खिर पकाएर चढाउने छु ।” यति भनेर तिनी त्यहाँबाट हिडिन्, नभन्दै उनी केही समयमै गर्भवती भईन र नौ महिनामा नै जन्माइन्, गर्भवती भएर छोरो नै जन्माए पछि घरपरिवारका सबै जनाले उनलाई अत्यन्तै दया माया गर्न थाले ।
एक दिन सिदार्थ गौतम बुद्धत्व प्राप्तिको लागि तिनै महिलाले वरदान मागेको पिपलको फेदमा बसेर तपस्या गरिरहेका थिए । ती महिलाले पनि झट्ट आफूले पिपलसँग वरदान मागेको, वरदान पनि पूरा भएकोले आफूले गरेको बाचा अनुसार खिर पकाएर चढाउनु पर्यो भनेर खिर पकाएर चढाउन गइन् । जाँदा त पिपलको फेदमा दुबै आँखा चिम्लेर एक जना ध्यानमा बसेको देखेर ती महिलाले भक्तिपूर्वक, “हे भगवान तपाईं को हुनुहुन्छ मलाई थाहा छैन, म मन्दिर गएर आउँदा थकाइ मार्न यस पिपलको फेदमा बसेर वरदान मागेको थिएँ । तपाईंको कृपाले मेरो मनोइच्छा पूरा भएको छ, म आमा बनेकि छु, मेरो बाचा अनुसार मैले हजुरलाई खिर चढाएको छु, एउटी आमाले स्वच्छ मनले चढाएको प्रसाद सम्झी ग्रहण गर्नुहोला” भनेर आफुले लगेको खिर त्यही तपश्वीको अगाडि राखेर घर आइन् ।
उनी घर गएको केही समयपछि सिदार्थ गौतमले ती आमाले भक्तिपूर्वक चढाएको खिर खाएर पुन तपस्या गर्न बसेका मात्र थिए उनलाई बुद्धत्व प्राप्त भयो भन्ने विश्वास पनि रहि आएको छ । ती एउटी आमाले चढाएको खिर खाएर बुद्धत्व प्राप्त गरेर संसारभरि भगवान बुद्धको नामले प्रख्यात भए । यसरी ती महिलाले खिर चढाएको दिन पनि साउन महिजाको १५ गते नै परेकोले त्यस समयदेखि अहिलेसम्म पनि साउन १५ गते खिर पकाएर बाँड्ने र खाने चलन चलेको भन्ने अर्को धार्मिक विश्वास पाइन्छ ।


