दोलखा, २८ असोज । दोलखाको वैतेश्वर गाउँपालिका वडा नम्बर ८ स्थित जनकल्याण बहुउद्देश्यीय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २६ औँ वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ ।
क्षेत्रपा स्थित धर्मशाला आधारभुत विद्यालयको प्राङ्गणमा सम्पन्न साधारण सभामा सचिव पूर्ण बहादुर श्रेष्ठले प्रगति प्रतिवेदन, कोषाध्यक्ष हरिसुन्दर खत्रीले आर्थिक प्रतिवेदन र लेखा सुपरिवेक्षण समिति संयोजक सुन्दर थापाले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । सो अवसरमा आर्थिक मन्दीका कारणले संस्थाका सदस्यहरुको आर्थिक गतिविधीमा कमी हुनगई ऋण तथा ब्याज असुलीमा केही लचिलो भएका कारण गत आर्थिक वर्षको संस्थाको खुद मुनाफा अपेक्षाकृत हुन नसकेको जानकारी गराइयो । झण्डै ११ करोड बढी कुल पुँजी रहेको उक्त सहकारी संस्थाले गत आवमा सबै खर्च कटाएर १ लाख ९४ हजार रुपैँया मात्रै खुद मुनाफा आर्जन गरेको छ । यद्यपी चालु आर्थिक वर्षमा सदस्यहरुलाई आयआर्जनका कार्यमा सहभागि गराई सहकारीको सुधारका लागि विज्ञ समेतको सहभागितामा सहकारी रुपान्तरण योजना बनाएर अघि बढ्न लागिएको संस्थाले जनाएको छ ।
संस्थाका अध्यक्ष डम्बर बहादुर खड्काको अध्यक्षतामा सम्पन्न साधारण सभामा वैतेश्वर ८ का वडाअध्यक्ष शान्त जिरेल, दोलखा जिल्ला बचत तथा ऋण सहकारी संघका कोषाध्यक्ष तेन्जीङ शेर्पा, नेकपा माओवादी केन्द्र दोलखा क्षेत्र नम्बर १ का संयोजक पुष्कर कुमार अधिकारी, विभिन्न सहकारी संघसंस्थाका प्रतिनिधि तथा सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
सो अवसरमा संस्थाका संस्थापक अध्यक्ष रामबहादुर खड्का सहित ज्येष्ठ शेयर सदस्य, अधिक शेयर खरिदकर्ता, अधिक तथा नियमित बचतकर्ता तथा ऋणी सदस्य, असल कृषक सदस्य लगायतलाई सम्मान गरिनुको साथै आधारभुतदेखि माध्यमिक तह (एसईई) सम्मका २४ जना बाल सदस्यहरुलाई छात्रवृत्ति समेत वितरण गरिएको थियो ।



