काठमाण्डौ, २१ असार । उप्रेती समाजसेवा समितिको ३० औँ स्थापना दिवस विविध कार्यक्रमका साथ सम्पन्न भएको छ । काठमाण्डौ स्थित एक होटलमा रक्तदान कार्यक्रम एवम् सम्मान तथा पुरस्कार वितरण आदि कार्यक्रम गरी स्थापना दिवस मनाइएको हो ।
समितिका अध्यक्ष शोभित उप्रेतीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ज्येष्ठ वंशज सम्मान तथा उप्रेती वंशज सदस्यले स्थापना गरेको विभिन्न अक्षयकोष तर्फका सम्मान तथा पुरस्कार वितरण गरियो । यसरी ज्येष्ठ वंशज सम्मानबाट काभ्रेपलान्चोकका निल प्रसाद उप्रेती, काठमाडौंका जलकुमारी खड्का उप्रेती, भक्तपुरका अम्बिका शिवाकोटी उप्रेती र श्री प्रसाद उप्रेती, झापाका टिकादेवी दाहाल उप्रेती र कृष्ण प्रसाद उप्रेती लगायत सम्मानित भएका छन् । त्यस्तै उप्रेती वंशजकै तर्फबाट सन् १९७९ देखि त्रिभुवन विश्वविद्यालय लगायत देश तथा विदेशमा प्राध्यापन र बौद्धिक अनुसन्धानका माध्यमबाट पुर्याएको योगदानको कदर गर्दै प्राध्यापक विशालनाथ उप्रेती (पिएचडी) लाई विशेष सम्मान गरियो ।

त्यस्तै उप्रेती समाजसेवा समितिमा आवद्ध सदस्यहरुबाट स्थापित विभिन्न सम्मान तथा पुरस्कार पनि वितरण भएको छ । जसमा ५१ हजार राशीको लक्ष्मी देवी–गङ्गा प्रसाद उप्रेती स्मृति सम्मान तथा पुरस्कार खोटाङको दिक्तेल स्थित शुभम् फाउण्डेसनलाई प्रदान गरिएको छ । त्यस्तै ५० हजार राशीको पद्मलाल–नैनकला उप्रेती स्मृति सम्मान तथा पुरस्कार सीडब्लुएडी नामक संस्थाका अध्यक्ष डा. शशी अधिकारी राउतलाई प्रदान गरिएको छ । समान १५ हजार राशीको नन्दराज–ओमकुमारी उप्रेती स्मृति सम्मान तथा पुरस्कार र धर्मानन्द–कौशल्या उप्रेती सामाजिक सेवा सम्मान तथा पुरस्कार क्रमशः पाल्पाको रम्बामा रहेको उत्तरबाहिनी गुरूकुलमका पण्डित चैतन्य कृष्ण प्रभु र मेनुका थापाले सञ्चालन गरेको रक्षा नेपाल नामक संस्थालाई प्रदान गरिएको छ । त्यसैगरी १०÷१० हजार राशीको खगेश्वर उप्रेती स्मृति सम्मान तथा पुरस्कार र चन्द्र कुमारी राना मगर स्मृति सम्मान तथा पुरस्कार क्रमशः कञ्चनपुरको भीमदत्त नगरपालिकामा सञ्चालित महिला तथा वृद्ध सेवाकेन्द्र र काठमाडौंका प्राध्यापक इन्दु तुलाधरलाई प्रदान गरियो । कार्यक्रमका प्रमुख अतिथी निवर्तनमा रक्षा मन्त्री एवं प्रतिनिधि सभा सदस्य हरि उप्रेती लगायतले सम्मानित र पुरस्कृतलाई दोसल्ला, माला र सम्मान पत्र प्रदान गरेका थिए । कार्यक्रममा समितिका महासचिव लक्ष्मण प्रसाद उप्रेती, सचिव बलराम प्रसाद उप्रेती, महिला विभाग प्रमुख कमला उप्रेती लगायतले विविध विषयमा आआफ्नो धारणा राखेका थिए ।
यसैबीच, उप्रेती समाजसेवा समितिको स्थापना दिवसकै अवसरमा आयोजित रक्तदान कार्यक्रममा ७१ जनाले रक्तदान गरेका छन् । रक्तदान कार्यक्रम लायन्स क्लब अफ काभ्रेपलान्चोक भगवती र लायन्स क्लब अफ काठमाडौं इन्टरप्रेनरसिप तथा हिमाल हस्पिटल, ब्लड बैंक काठमाण्डौसँगको सहकार्यमा भएको हो ।

२०४८ साल चैत्र १५ गते झापाको डाँगीबारीमा भएको पहिलो उप्रेती भेला, २०४९ बैशाख १३ मा झापाकै घैलाडुब्बामा भएको दोस्रो भेलाबाट उप्रेती वंश एकता समितिको गठन भएकोमा २०५२ जेठ २० मा काठमाडौंको थानकोट भेलाले सोही समितिलाई उप्रेती समाजसेवा समितिमा रूपान्तरण गरेको थियो ।



