सिङ्गटी, ०१ फागुन । दोलखाको कालिन्चोक गाउँपालिका बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत गाउँपालिका भित्रका माध्यमिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता शुक्रबार सिङ्गटीमा सम्पन्न भएको छ ।
“पोषणयुक्त खानपान र मानसिक स्वास्थ्य” विषयक वक्तृत्वकला प्रतियोगिताको गाउँपालिकाका उपाध्यक्ष कुल बहादुर बुढाथोकीले उद्घाटन गरेका थिए । गाउँपालिका भरका ९ ओटा विद्यालयका विद्यार्थीहरु सहभागि भएको प्रतियोगितामा कालिनाग मावि सुनखानीका श्रीकृष्ण उप्रेती प्रथम, लापिलाङ माविका दिपना थापा द्वितीय, निकोभुमे माविकी विनिता थामी तृतीय र कालिनाग मावि सिङ्गटीकी दावालेकी शेर्पाले सान्त्वना स्थान हासिल गरे । उनीहरुले क्रमशः ६ हजार, ४ हजार, ३ हजार र २ हजार नगद पुरस्कार सहित प्रमाण पत्र प्राप्त गरे । विजयी विद्यार्थीहरुलाई उपाध्यक्ष बुढाथोकी, गाउँपालिकाका शिक्षा शाखा प्रमुख विष्णु आचार्य, निर्णायक समितिका संयोजक भगवान बस्नेत, कालिनाग माविका प्रधानाध्यापक तेज बहादुर खत्री लगायतले पुरस्कार र प्रमाणपत्र वितरण गरेका थिए ।
विद्यार्थीहरुमा उचित पोषण र मानसिक स्वास्थ्यका सम्बन्धमा चेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको शिक्षा शाखा प्रमुख आचार्यले बताए । विद्यार्थीमा बढ्दो चाउचाउ, विस्कुट, फ्रुटी, इनर्जी ड्रिङ्क, चटपटे, पानीपुरी जस्ता स्वादमा मिठा तर स्वास्थ्यमा गम्भिर असर गर्ने खाद्यवस्तुको उपभोगले उनीहरुको मानसिक विकासमा असर पर्न गइ पठनपाठनमा समेत प्रत्यक्ष प्रभाव परेको तर्फ कार्यक्रमका सहभागिहरुले गम्भिर चिन्ता प्रकट गरेका थिए ।



