काठमाडौं, २९ भदौ । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गरेकी छन् । विस्तारित मन्त्रिपरिषद्मा गृह मन्त्रालयमा ओमप्रकाश अर्याल, अर्थमा रामेश्वर खनाल, र उर्जामा कुलमान घिसिङ नियुक्त भएका हुन् ।
स्रोतका अनुसार अर्याललाई कानुन र घिसिङलाई भौतिक पूर्वाधार तथा यातयात, र सहरी विकास मन्त्रालयको जिम्मेवारी समेत दिइएको छ । नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण सोमबार हुनेछ ।
यसअघि सरकारी सेवा र प्राविधिक नेतृत्व मार्फत चर्चामा आएका उनीहरू पहिलो पटक मन्त्रीका रूपमा सरकारमा सहभागी हुन लागेका हुन् । कानुन व्यवसायी अर्याल यसअघि विभिन्न सामाजिक आन्दोलन र रिट निवेदनका कारण चर्चामा आएका व्यक्ति हुन् । उनी पछिल्लो समय काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको कानुनी सल्लाहकार भएका काम गरेका थिए ।
त्यस्तै, वित्तीय अनुशासन र पारदर्शिताका पक्षमा रहेर काम गरेका खनाल पूर्व अर्थसचिव हुन् । लामो समय सरकारका विभिन्न तहमा काम गर्दै सशक्त अर्थ नीति निर्माणमा भूमिका खेलेका खनालले हालै मात्र उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको अध्यक्षको भूमिकामा रही आर्थिक सुधार सम्बन्धी प्रतिवेदन सरकारलाई बुझाएका थिए ।
त्यसैगरी नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक घिसिङ लोडसेडिङको अन्त्य र घाटामा गएको विद्युत प्राधिकरणलाई मुनाफामा लगेपछि चर्चाको शिखरमा रहेका व्यक्ति हुन् । उनलाई एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले विद्युत प्राधिकरणबाट जबर्जस्ती बर्खास्त गरेको थियो, जसका कारण ओली सरकारको सर्वत्र आलोचना समेत भएको थियो ।
प्रधानमन्त्री कार्कीले हालै अन्तरिम सरकारको नेतृत्व सम्हाल्दै सरकारलाई पारदर्शिता, दक्षता र जनउत्तरदायी सेवातर्फ उन्मुख गराउने बताउँदै आएकी छन् । जसअनुसार मन्त्री चयनमा पनि प्राविधिक क्षमता र नीतिगत स्पष्टता भएका व्यक्तिहरूलाई अघि सारिएको बताइएको छ ।



