सिङ्गटी, १९ कार्तिक । दोलखाको रोल्वालिङ हिमश्रृङ्खला अन्तर्गत यलुङ–री हिमालको बेस क्याम्प नजिकै आएको हिमपहिरोमा परी मृत्यु भएका ३ मध्ये २ जनाको पहिचान खुलेको छ । हिमपहिरोमा परी ४ जना अझै बेपत्ता छन् ।
मृत्यु हुनेमा दोलखाको गौरीशङ्कर गाउँपालिका वडा नम्बर ९ सिमिगाउँका पदम तामाङ र सोलुखुम्बु माप्यदुधकोसी गाउँपालिका वडा नम्बर ५ का मेरे कार्की रहेका छन् । तामाङ ड्रिमर्स ट्रेक्स र कार्की हिमालयन ट्रेक्सका गाइड हुन् । मृत्यु भएका एक विदेशी नागरिकको अझै पहिचान खुलेको छैन ।
बेपत्ता हुनेमा पनि सबै विदेशी नागरिक रहेका छन् । ड्रिमर्स ट्रेक्सबाट उक्त क्षेत्रमा पुगेका इटालीका पावलो कोको र क्यानडाका मार्काे–डि मार्सेल्लो, यात्री ट्रेक्सबाट गएका फ्रान्सका म्यानफ्रेदी क्रिश्चिन आन्द्रे र हिमालयन ट्रेक्सबाट गएका इटालीकै मार्कस किर्चलर र जर्मनका जाकोब स्क्रिबर हराइरहेकोमा मृतक भेटिएका को हुन् भन्ने एकीन नभएको स्थानीय प्रशासनले जनाएको छ ।
हिमपहिरोमा परी घाइते भएका ३ विदेशी नागरिक सहित ८ जनालाई उपचारका लागि हेलिकप्टर मार्फत मङ्गलबार काठमाडौं लगिएको छ । बेपत्ता भएकाहरूको नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी समेत गरी ४८ जनाको टोली र स्थानीय जानकारहरूको समेत संलग्नतामा खोजीकार्य जारी रहेको दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी औलाख बहादुर आलेले जानकारी दिए ।
दोलखाको गौरीशङ्कर गाउँपालिका वडा नम्बर ९ मा पर्ने ५६३० मिटर उचाइको यलुङ–री हिमाल आरोहणमा गएको १५ जनाको टोली सोमबार विहान करिव १०ः३० बजेको समयमा आएको हिमपहिरोमा परेको थियो ।
हेर्नुहोस्, जिल्ला प्रशासन कार्यालयको विज्ञप्ति:




