चरीकोट, ०६ माघ । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि एक मात्र निर्वाचन क्षेत्र रहेको दोलखामा नेपाली कम्युनिष्ट पार्टीका विशाल खड्काले उम्मेद्वारी मनोनयन दर्ता गराएका छन् ।
सदरमुकाम चरीकोट बजारमा झाँकी, र्याली सहित मूख्य निर्वाचन अधिकृतको कार्यालयमा खड्काले उम्मेद्वारी दर्ता गराएका हुन् । दोलखाको गौरीशङ्कर गाउँपालिका जुँगुमा जन्मिएका खड्का नेपाली कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य हुन् । किशोरावस्थादेखि नै भूमिगत राजनीतिमा संलग्न भइ जेल जीवन समेत बिताएका खड्का युवा तर अनुभवी र खारिएका नेताका रुपमा परिचित छन् । संसदीय राजनीतिमा २०७० को दोस्रो संविधान सभा निर्वाचनमा पराजय व्यहोरेका खड्का २०७४ को निर्वाचनमा बागमती प्रदेश सभाको सदस्यमा निर्वाचित भइ वन मन्त्री समेत भएका थिए । वनमन्त्री हुँदा खड्काले अघि सारेका र सुरु गरेका योजनाहरु बागमती प्रदेशमै उल्लेखनीय मानिन्छन् । दोलखामा जिरी ताल निर्माण लगायतका दीर्घकालिन महत्वका योजना भित्र्याएका नेता खड्का विकासप्रेमी समेत हुन् ।


मनोनयन दर्ता पश्चात पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै खड्काले दोलखा जिल्ला सम्भावना र अवसरहरुको खानी भए पनि ती सम्भावना र अवसरहरुमा सिमित मानिसहरुको मात्रै पहुँच भएकाले त्यस्ता विषयमा सबै दोलखालीको समान पहुँच पुर्याउन आफू लागी पर्ने बताए । आफू निर्वाचित भएमा जिरी ताल, उत्तर दक्षिण राजमार्ग, सोलुखुम्बुसम्मको पर्यटकिय राजमार्ग, जलविद्युतको विकास र वितरणमा यथेष्ट पहलकदमी जस्ता विषयहरु प्राथमिकतामा पर्ने खड्काको भनाइ छ ।

मनोनयन दर्ता पछि सातदोबाटो चोकमा आयोजित कोण सभालाई उम्मेद्वार खड्का सहित नेकपाका केन्द्रिय सदस्य एवम् समानुपातिक उम्मेद्वार महेन्द्र बहादुर कार्की, नेकपाका नेतृ देवी खड्का, निवर्तमान प्रतिनिधि सभा सदस्य एवम् निर्वाचन केन्द्रित पोलिटिकल हाइ कमाण्ड संयोजक गङ्गा कार्की विश्व, नेकपाका केन्द्रिय सदस्य एवम् नेकपाको जिल्ला निर्वाचन परिचालन समितिका संयोजक भीम प्रसाद दाहाल, अर्का केन्द्रिय सदस्य एवम् नेता भरत प्रसाद दुलाल, मोहन थापा लगायतले सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा उनीहरुले नेकपाको एजेण्डाहरु जनता र विकास केन्द्रित रहेकाले जीत सुनिश्चित रहेको दावी गरे ।



