भक्तपुर, २८ बैशाख । गत चैतमा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज सार्वजनिक भएको छ।
राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार कुल ६५.९८ प्रतिशत अर्थात २ लाख ८४ हजार १६० परीक्षार्थी उत्तीर्ण अर्थात ग्रेडेड भएका छन्, जसमा ४८ हजार ३९२ जनाले ३.६०-४.०० जिपिए ल्याएका छन् भने ८० हजार ३७२ जनाले ३.२०-३.५९ जिपिए ल्याएका छन् । गत चैत १९ गतेदेखि देशभरका एक हजार ९६६ परीक्षा केन्द्रबाट ४ लाख ३० हजार ६७७ परीक्षार्थीले परीक्षा दिएका थिए।
प्रकाशित नतिजा एसएमएस, आइभिआर र विभिन्न वेबसाइटबाट नतिजा हेर्न सकिने बोर्डले जनाएको छ। विद्यार्थीहरूले आफ्नो मोबाइलको मेसेज बक्समा गई आधिकारिक सर्टकोडमार्फत नतिजा हेर्न सक्नेछन् । त्यस्तै, नेपाल टेलिकमको १६०० मा कल, एसएमएस र युएसएसडीमार्फत पनि नतिजा हेर्न सकिने व्यवस्था गरेको छ।
विगतका वर्षहरूको परम्परामा क्रमभङ्ग गर्दै सरकारले परीक्षा सुरु हुनुभन्दा पहिले नै बोर्डलाई एक महिनाभित्र नतिजा सार्वजनिक गर्न निर्देशन दिएको थियो । यस वर्ष परीक्षा भएकै केन्द्रमा परीक्षा सकिएको तीन दिनभित्र परीक्षाको उत्तरपुस्तिका परीक्षण गरिएको थियो।
यसरी हेर्न सकिन्छ नतिजा…!



