ओराङ, १३ असार । दोलखाको विगु गाउँपालिका वडा नम्बर २ का असहाय ज्येष्ठ तथा एकल नागरिकलाई विभिन्न सहयोग उपलब्ध गराइएको छ ।
ओराङडाँडा स्थित वडा कार्यालयमा शनिबार आयोजित एक कार्यक्रमका बीच उक्त वडाका ३४ जना त्यस्ता नागरिकहरूलाई फाइबर सिरक, इलेक्ट्रिक जग र चार्जिङ टर्चलाइट वितरण गरिएको हो । विगु गाउँपालिकाको आर्थिक वर्ष २०८२/८३ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत एकल जीवनयापन गरिरहेका तथा आर्थिक रूपमा कमजोर नागरिकहरूलाई सहयोग उपलब्ध गराइएको विगु २ का वडा अध्यक्ष दिपक ठकुरीले बताए । उनका अनुसार यस्तो कार्यक्रममा विशेषगरी गाउँपालिका र वडाका अन्य प्रत्यक्ष लाभका गतिविधिमा नसमेटिएका नागरिकहरूलाई प्राथमिकता दिएर छनोट गरिएको हो । यस्तो सहयोग विगत वर्षदेखि नै निरन्तर हुँदै आएको र आगामी दिनमा पनि हुने ठकुरीको भनाइ छ ।

कार्यक्रम पछि आफूहरूको आवश्यकतामा बुझि सहयोग गरेकोमा लाभान्वित नागरिकहरूले वडा कार्यालय र गाउँपालिकालाई धन्यवाद दिएका छन् । कार्यक्रममा वडाअध्यक्ष ठकुरी, ओराङ स्वास्थ्य चौकीका इन्चार्ज नितेस महतो, गाउँपालिकाका पोषण सहजकर्ता सोनी श्रेष्ठ, सहायक कम्प्युटर अपरेटर विजया खड्का लगायतको उपस्थिती रहेको थियो ।


