काठमाडौं, ४ असोज । रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएका पत्रकार टेकराज थामीको शनिबार अन्तिम संस्कार गरिएको छ ।
कामको शिलशिलामा रसुवाको केरुङ नाका पुगेका पत्रकार थामी भदौ १० गते आएको बाढीपछि सम्पर्क बिहिन भएका थिए । बाढीमा बेपत्ता भएको लामो समय बितिसक्दा पनि थामीको अवस्था एकिन हुन नसकेपछि धार्मिक परम्पराअनुसार अन्तिम संस्कार गर्ने परिवारको निर्णय बमोजिम हिन्दू धर्मशास्त्रीय परम्पराअनुसार कुशको शव बनाएर अन्तिम संस्कर गरिएको हो ।

दोलखाको कालिन्चोक गाउँपालिका स्थायी घर भएका थामीको प्रतीकात्मक शवमा नेपाल पत्रकार महासंघले महासंघको झण्डा ओढाएर सम्मान प्रकट गरेको थियो । महासंघको नेतृत्व तथा उपस्थित पत्रकारहरूले उनको आत्माको चिरशान्तिको कामना गर्दै एक मिनेट मौनधारणसमेत गरेका थिए । काठमाडौँको पशुपति आर्यघाटमा निकै भावुक वातावरणमा थामीको दाहसंस्कारमा उनका परिवारजन तथा आफन्तसँगै विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकार र शुभेच्छुकहरूको उल्लेख्य उपस्थिति थियो । पत्रकार थामीको श्रीमती र एक छोरी छन् । (तस्बीरहरूः पत्रकार मनुका कुँवर)


