चरिकोट, २७ असोज । पत्रकारीता छाडेर राजनीतिमा प्रवेश गरेको पाँच वर्षमै अजयबाबु शिवाकोटी नेपाली कांग्रेसको सहमहामन्त्री बनेका छन्।
कांग्रेसको १५औँ महाधिवेशनमा खुला कोटाबाट २ हजार १७२ मतसहित निर्वाचित शिवाकोटीले दोलखाबाट पार्टीको केन्द्रीय पदाधिकारी बन्ने पहिलो नेताको परिचयसमेत बनाएका छन्। यसअघि कांग्रेसको १४औँ महाधिवेशनमा लोकप्रिय मतसहित केन्द्रीय सदस्य निर्वाचित भएका शिवाकोटी सभापति गगन थापानिकट नेताका रूपमा चिनिन्छन्।
पत्रकारीतामा सक्रिय रहँदा नेपाल प्रेस युनियनको महासचिवसमेत रहेका शिवाकोटी तत्कालीन सभामुख कृष्णबहादुर महरासँग सम्बन्धित समाचार प्रकाशनपछि चर्चामा आएका थिए। त्यसपछि पत्रकारीता छाडेर कांग्रेसको राजनीतिमा होमिएका उनी छोटो अवधिमै केन्द्रीय सदस्य हुँदै सहमहामन्त्रीसम्म पुगेका हुन्।
२०८२ सालको प्रतिनिधिसभा निर्वाचनमा दोलखाबाट कांग्रेसका उम्मेदवार बनेका शिवाकोटी पराजित भएका थिए। प्रतिनिधिसभा निर्वाचनमा हार व्यहोरे पनि पार्टीको आन्तरिक प्रतिस्पर्धामा भने उनले सफलता हात पारेका छन्।


