लादुक, ३० असोज । दोलखाको विगु गाउँपालिका–४ लादुकमा सम्पन्न तेस्रो वडाध्यक्ष कप खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि गौरीशङ्कर गाउँपालिका–सुरिको टोलीले जितेको छ।
तीन दिनसम्म चलेको प्रतियोगितामा कालिन्चोक गाउँपालिका–सुन्द्रावतीको टोली दोस्रो हुँदा विगु–७ तेस्रो बनेको छ। प्रतियोगितामा कालिन्चोक गाउँपालिका–सुनखानीको टोलीले सान्त्वना स्थान हासिल गरेको छ। विजेता सुरिले उपाधिसँगै ७० हजार रुपैयाँ नगद, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। दोस्रो भएको सुन्द्रावतीले ५० हजार, तेस्रो भएको विगु–७ ले ३० हजार र सान्त्वना भएको सुनखानीले २० हजार रुपैयाँ पुरस्कार पाएका छन्। प्रतियोगिताअन्तर्गत सर्वोत्कृष्ट खेलाडीलाई तीन हजार रुपैयाँ नगद र मेडल प्रदान गरिएको छ भने अन्य विधाका उत्कृष्ट खेलाडीले जनही दुई हजार रुपैयाँ नगद र मेडल प्राप्त गरेका छन्।

स्थानीयस्तरमा खेलकुदको विकास र प्रतिभावान् खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालन गरिएको प्रतियोगितामा विभिन्न स्थानीय तहका टोलीबीच प्रतिस्पर्धा हुँदा ग्रामीण क्षेत्रमा भलिबलप्रतिको आकर्षण र खेलाडीको क्षमता प्रदर्शन गर्ने अवसरसमेत बनेको आयोजक विगु गाउँपालिका वडा नम्बर २ का अध्यक्ष दिपक ठकुरीले बताए ।
वडाध्यक्ष ठकुरीको अध्यक्षतामा सम्पन्न प्रतियोगिताको समापन तथा पुरस्कार वितरण कार्यक्रममा कालिन्चोक गाउँपालिकाका उपाध्यक्ष एवं नेकपाका नेता कुलबहादुर बुढाथोकी, नेकपाका विगु गाउँपालिका अध्यक्ष रमेश ठकुरी, विगु–४ का वडाध्यक्ष रामचन्द्र खड्का, नेकपाका नेता दिनेश गुरुङ, रामकुमार खड्का लगायतले विजेता टोली र उत्कृष्ट खेलाडीलाई पुरस्कार वितरण गरेका थिए।स्थानीय तहबीच खेलकुद प्रतिस्पर्धा बढाउने र ग्रामीण क्षेत्रमा लुकेका प्रतिभालाई अवसर दिने उद्देश्यले आयोजना गरिने यस्ता प्रतियोगिताले खेलकुद गतिविधि विस्तार गर्न सहयोग पुग्ने सरोकारवालाहरूको विश्वास छ ।


