चरिकोट, ३० असोज । नेपाल प्रहरीका गतिविधि नागरिकसम्म पुर्याउन तथा आवश्यक सूचना आदानप्रदानमा सहकार्य गरेको भन्दै नेपाल पत्रकार महासंघ दोलखा शाखा सम्मानित भएको छ ।
नेपाल प्रहरीको ७१औँ प्रहरी दिवसको अवसरमा शुक्रबार जिल्ला प्रहरी कार्यालय दोलखाको प्राङ्गणमा आयोजित कार्यक्रममा महासंघ जिल्ला शाखालाई सम्मानपत्र प्रदान गरिएको हो । दोलखाका प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले प्रहरीका गतिविधिको प्रचारप्रसार र प्रहरी–सञ्चार क्षेत्रबीचको सहकार्यमा योगदान पुर्याएको भन्दै पत्रकार महासंघ दोलखा शाखाका अध्यक्ष प्रभु जिरेललाई सम्मान-पत्र हस्तान्तरण गरिन् ।

‘विपदमा सारथी, सङ्कटमा छहारी : प्रविधियुक्त नेपाल प्रहरी’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी तथा प्रहरीलाई सहयोग गर्ने स्थानीय व्यक्तिहरूलाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा अमर प्रहरी स्मारकमा श्रद्धाञ्जली अर्पण गर्नुका साथै अमर प्रहरीका परिवारजनलाई सम्मान गरिएको थियो । जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाको अध्यक्षतामा सम्पन्न समारोहमा प्रहरी महानिरीक्षकको शुभकामना सन्देश प्रहरी निरीक्षक सन्तोषकुमार खड्काले वाचन गरेका थिए ।


