मेलुङ, १२ कार्तिक । दोलखाको मेलुङ गाउँपालिका–५ डाँडाखर्कले तेस्रो संस्करणको वडाध्यक्ष कप खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ । आयोजकसमेत रहेको डाँडाखर्कले मेलुङ र तामाकोसी गाउँपालिकाका ११ टोली सहभागी प्रतियोगितामा प्रथम स्थान हासिल गरेको हो ।
कार्तिक ९ देखि ११ गतेसम्म वडा कार्यालयनजिकको खेलमैदानमा सञ्चालन भएको प्रतियोगितामा तामाकोसी गाउँपालिका–३ द्वितीय, तामाकोसी–२ तृतीय र तामाकोसी–१ ले सान्त्वना स्थान हासिल गरेका छन् । प्रतियोगितामा प्रथम हुने डाँडाखर्कले ५६ हजार २५० रुपैयाँ, द्वितीय हुने तामाकोसी–३ ले ३७ हजार ५०० रुपैयाँ, तृतीय हुने तामाकोसी–२ ले २५ हजार रुपैयाँ र सान्त्वना स्थान हासिल गर्ने तामाकोसी–१ ले ८ हजार ७५० रुपैयाँ पुरस्कार प्राप्त गरे । उक्त पुरस्कार रकम करसहितको हो ।

मेलुङ गाउँपालिका–५ का वडाध्यक्ष ललितबहादुर मगरको अध्यक्षतामा सम्पन्न प्रतियोगिताको समापन समारोहमा गाउँपालिका अध्यक्ष हिराकुमार तामाङ, उपाध्यक्ष गायत्री आचार्यलगायतले विजेता टोली तथा खेलाडीलाई पुरस्कार, शिल्ड र मेडल प्रदान गरेका थिए ।स्थानीयस्तरमा खेलकुदको विकास, युवाको प्रतिभा पहिचान र भलिबल खेलप्रति आकर्षण बढाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।


