दोलखा, २ असार । जनयुद्धका सहिद रितबहादुर खड्काको २१ औँ स्मृति दिवस शनिबार दोलखामा विशेष समारोहका बीच मनाइएको छ ।
नेकपा माओवादी केन्द्र दोलखाले सदरमुकाम चरिकोटमा आयोजना गरेको स्मृती सभामा नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष एवं नेपाल सरकारका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सहिद खड्काको तस्बीरमा माल्यार्पण गरे । स्मृति सभालाई सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले सहिद रितबहादुर खड्काको जीवनीबाट आफु धेरै प्रभावित हुने गरेको र जुन उदेश्यका निम्ति सहिदहरुको जीवन बलिदान भयो, त्यो उदेश्य परिपूर्तिका लागि सबैले संकल्पका साथ अघि बढ्नुपर्ने बताए । सहिदको बलिदानको परिणाम स्वरुप नेपालमा राजतन्त्रको अन्त्य र गणतन्त्रको सुरुवात, संघीयता जस्ता ऐतिहाँसिक राजनीतिक परिवर्तन भएको भन्दै मन्त्री श्रेष्ठले त्यसको रक्षा र उच्चतम सदुपयोग गर्दै समाजवाद निर्माणको बाटोमा अघि बढ्नुपर्ने धारणा राखे ।
समारोहमा सहिद रितबहादुरकी आमा मनमाया खड्काले माओवादीका विरुद्धमा विभिन्न आवाजहरु सुन्ने गरे पनि त्यसमा कुनै सत्यता नभएको भन्दै माओवादी कहिल्यै नसकिने र नबिग्रिने विश्वास व्यक्त गरिन् । नेकपा माओवादी केन्द्र दोलखाका संयोजक कुलबहादुर बुढाथोकीको अध्यक्षतामा सम्पन्न स्मृती सभामा दोलखा माओवादीका संस्थापक नेतामध्येका एक एवं हाल प्रतिनिधी सभाका सदस्य गङ्गा कार्की विश्व, माओवादी पोलिटब्युरो सदस्य एवं पूर्व महान्यायधिवक्ता मुक्ति नारायण प्रधान लगायतले सहिद रितबहादुरको योगदानलाई चर्चा र स्मरण गरेका थिए ।

२०२८ सालमा दोलखाको जुँगुमा जन्मिएका रितबहादुरको २०५९ असार २ गते रौतहटको पिपराहमा तत्कालिन सरकारी सुरक्षा फौजले गोली हानी हत्या गरेको थियो । कलिलै उमेरमा क्रान्तिमा लागेका खड्का तत्कालिन विद्रोही माओवादीका केन्द्रिय सदस्य रहेका थिए । साहित्यमा पनि रुचि राख्ने उनलाई पूर्वको चम्किलो तारा उपनामले पनि चिनिन्थ्यो ।


