दोलखा, ०९ असार । दोलखाको कालिञ्चोक गाउँपालिका ३ सिङ्गटी स्थित कालिनाग माध्यमिक विद्यालयलाई आवासिय विद्यालयको रुपमा विकास गरिने भएको छ । उक्त कार्यको सुरुवातका लागि गाउँपालिकाले बजेट विनियोजन गरेको छ ।
जनतासँग उपाध्यक्ष कार्यक्रम अन्तर्गत उपाध्यक्ष कुलबहादुर बुढाथोकीले कालिनाग माविलाई साझेदारीमा आवासिय विद्यालयको रुपमा विकास गर्नका लागि ८ लाख रुपैयाँ बजेट विनियोजन गरेका हुन् । जिल्लाको उत्तरी कालिञ्चोक, विगु र गौरीशङ्कर गाउँपालिकाको केन्द्रविन्दु सिङ्गटी बजारमा अवस्थित कालिनाग माविको नयाँ भवन चिन सरकारको सहयोगमा निर्माणको अन्तिम चरणमा रहेको छ । पाँच सय भन्दा बढी विद्यार्थी अध्ययन गर्ने उक्त विद्यालयमा आवासिय सुविधा थप भएसँगै शैक्षिक गुणस्तर सुधार टेवा पुग्ने विद्यालयका प्रधानाध्यापक दाताराम नेपालको विश्वास छ ।
शनिबार सम्पन्न गाउँसभामा उपाध्यक्ष बुढाथोकीले स्नातक तहसम्म अध्यापन हुने उत्तरी भेगकै एक मात्र प्रताप स्मृति कलेजलाई पनि ५ लाख रुपैयाँ बजेट बिनियोजन गरेका छन् । स्थापना भएको १५ वर्षको अवधीमा गाउँपालिकाको तर्फबाट कलेजको लागि बजेटको व्यवस्था भएको यो नै पहिलो पटक भएको विद्यार्थी नेता रुपेश अर्यालले जानकारी दिए ।