दोलखा, ३० भदौ । काठमाण्डौको तीनकुनेमा शुक्रबार राती दोलखा घर भएका एकै परिवारमा तीन सहित चार जनाको हत्या भएको छ । तीनकुने गैरीगाउँ स्थित दिव्य सःमिल भित्र धारिलो हतियार प्रहार गरी हत्या भएको अवस्थामा चार जनाको शव भेटिएको प्रहरीले जनाएको छ ।
हत्या हुनेहरुमा दोलखाको कालिञ्चोक गाउँपालिका वडा नम्बर ८ घर भएका अन्दाजी ५५ वर्षका कुमार भुजेल, उनकी श्रीमती अम्बिका भुजेल, कुमारकी आमा ७० वर्षीय शुभद्रा भजेल र मोरङ घर भएका १९ वर्षका नविन राई रहेका छन् । उनीहरु मध्ये भुजेल दम्पती सोही सःमिलका कर्मचारी हुन् भने आमा शुभद्रा केही दिन अघि मात्रै काठमाण्डौ गएकी थिइन् । उक्त सःमिल दोलखा घर भइ काठमाण्डौको गौशाला बस्दै आएका एमाले नेता बालकृष्ण शिवाकोटीले सञ्चालन गरेको बुझिएको छ ।
घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले तीनकुनेमै बस्दै आएका २८ वर्षका दीपेन्द्र राईलाई नियन्त्रणमा लिएको छ । उनको कपडा र जुत्तामा रगतको दाग देखिएकाले नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दिपेन्द्रका बुबा पनि पहिले सोही सःमिलमा काम गर्ने गर्दथे, सोही बेलादेखि नै उनी उक्त सःमिलमा आउनेजाने गर्दथे । यद्यपी हत्याको कारण खुलेको छैन भने मृतकको शव आवश्यक मुचुल्का पछि पोष्टमार्टमका लागि महाराजगञ्ज स्थित शिक्षण अस्पतालमा राखिएको छ ।


