सिङ्गटी, साउन १६ । किवी खेतीको व्यावसायिक विकास, उत्पादन वृद्धि तथा प्रभावकारी बजारीकरणलाई लक्ष्य गर्दै दोलखाको बिगु गाउँपालिकामा किवी किसान अन्तरक्रिया तथा प्राविधिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
‘किसान समृद्धि, सहकार्य प्रतिबद्धता – हाम्रो अभियान’ भन्ने नारासहित ‘हाम्रो बगैँचा’को सहजीकरणमा सिङ्गटीमा आयोजित कार्यक्रममा बिगु, कालिन्चोक र गौरीशङ्कर गाउँपालिकाका किवी किसानहरूको उल्लेखनीय सहभागिता रहेको थियो। बिगु गाउँपालिकाका अध्यक्ष संजीव ओली को अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि कालिन्चोक गाउँपालिकाका उपाध्यक्ष कुलबहादुर बुढाथोकी रहेका थिए । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, कृषि प्राविधिक तथा तीनवटै पालिकाका व्यावसायिक किबी किसानहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा किबी खेतीको आधुनिक प्रविधि, उत्पादन वृद्धि, रोग तथा कीरा व्यवस्थापन, गुणस्तरीय उत्पादन तथा बजार व्यवस्थापनका विषयमा व्यवहारिक प्रशिक्षण प्रदान गरिएको थियो । किसानलाई उत्पादनदेखि बजारीकरणसम्मका चुनौती र सम्भावित समाधानका उपायबारे समेत जानकारी गराइएको आयोजकले जनाएको छ ।
प्रशिक्षणसँगै किवी उत्पादक किसानहरूबीच सहकार्यको वातावरण निर्माण गर्ने उद्देश्यले ५१ सदस्यीय तदर्थ ‘किवी उत्पादन, दररेट तथा बजारीकरण व्यवसायी समूह’ गठन गरिएको छ । नवगठित समूहले उत्पादनको उचित मूल्य निर्धारण, एकीकृत बजारीकरण, किसानबीच समन्वय तथा बजार पहुँच विस्तारका लागि काम गर्ने अपेक्षा गरिएको छ ।

कार्यक्रममा सहभागी वक्ताहरूले दोलखामा किवी खेतीको सम्भावना उच्च रहेकाले यसको व्यावसायीकरण, ब्रान्डिङ र व्यवस्थित बजारीकरणमा स्थानीय तह, किसान तथा सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरेका थिए ।
आयोजकका अनुसार यस्ता कार्यक्रमले किसानलाई आधुनिक कृषि प्रविधिसँग जोड्नुका साथै उत्पादनको गुणस्तर सुधार, बजार प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि र कृषि उद्यमशीलताको विकासमा महत्वपूर्ण टेवा पुग्ने विश्वास लिइएको छ ।
दोलखाका उच्च पहाडी तथा हिमाली क्षेत्रमा पछिल्ला वर्षहरूमा किवी खेतीप्रति किसानहरूको आकर्षण बढ्दै गएको छ । स्थानीय सरकार र निजी क्षेत्रको सहकार्यमा सञ्चालन हुने यस्ता कार्यक्रमले किवी खेतीलाई थप व्यवस्थित, व्यवसायिक र आयआर्जनमुखी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।


