दोलखा, १० कार्तिक । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन देशका अधिकांश भू–भागमा मौसम बदली हुने जनाएको छ ।
विभागको मौसम पूर्वानुमान महाशाखाले सोमबार विशेष बुलेटिन जारी गरेर सोमबार रातिदेखि बुधबार बिहानसम्म देशका विभिन्न प्रदेशमा वर्षा र हिमपात हुने जानकारी दिएको हो । अरब सागरमा बनेको न्यून चापीय प्रणाली र पश्चिमी वायूको प्रभावले देशमा कार्तिक १० गते सोमबार रातिदेखि कार्तिक १२ बुधबार बिहानसम्म गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपात तथा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाले सम्भावित हिमपात-वर्षाको कारणले दैनिक जनजीवन, पर्वतारोहण लगायत कृषि, पर्यटन क्षेत्रमा समेत असर पर्ने सम्भावना भएकोले आवश्यक सतर्कता अपनाउनु हुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध गरेको छ ।




