दोलखा, ३० मंसिर । दोलखा सदरमुकाम चरिकोट स्थित हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्थाले जिल्लाको मेलुङ गाउँपालिका वडा नम्बर १ पवटीमा एक दिने सहकारी शिक्षा तथा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
भीमेश्वर नगरपालिकालाई मात्र आफ्नो कार्यक्षेत्र बनाउँदै आएको उक्त साकोसले हालै दोलखा जिल्लाभर आफ्नो कार्यक्षेत्र बिस्तार गरेसँगै पहिलो पटक पवटीमा सहकारी शिक्षा कार्यक्रम गरेको हो । सत्यश्वर माविको सामुदायिक भवनमा आयोजित एक दिने सहकारी शिक्षा तथा वित्तीय साक्षरता कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत दिपक बस्नेतले सहकारीको महत्व, सहकारीमा सदस्य बन्नु भन्दा पहिला जान्नु तथा बुझ्नुपर्ने कुराहरु, सहकारीमा सदस्य बन्दा र नबन्दा हुने फाइदा तथा घाटा लगायतका विषयमा सहजीकरण गरेका थिए ।
एक सय भन्दा बढी स्थानीय सहभागि भएको उक्त कार्यक्रममा संस्थाका सञ्चालक समिति सदस्य उमा भुजेल, विभागिय प्रमुख पर्वत न्यौपाने र बिना अधिकारी लगायतको उपस्थिति रहेको थियो । सो क्रममा धेरै स्थानीयबासीले संस्थाको सदस्यता लिनुको साथै संस्थाप्रति निकै चासो र उत्सुकता प्रकट गरेको प्रमुख कार्यकारी अधिकृत दिपक बस्नेतले जानकारी दिए ।