सिङ्गटी, १९ फागुन । दोलखाको गौरीशङ्कर गाउँपालिकाले जनयुद्धका सहिद तथा बेपत्ताका परिवार एवं घाइतेहरुलाई सम्मान गरेको छ ।
सहिद सप्ताहको अवसर पारेर उत्तरी सिङ्गटी बजारमा आयोजित एक समारोहमा गौरीशङ्कर गाउँपालिकाका १८ जना सहिदका परिवार र २ जना घाइतेलाई सम्मान गरिएको हो । उनीहरुलाई नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवं दोलखा जिल्ला इन्चार्ज विशाल खड्काले नगद, सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
गौरीशङ्कर गाउँपालिकाका अध्यक्ष विश्वास कार्कीको अध्यक्षतामा सम्पन्न सम्मान कार्यक्रममा नेकपा माओवादी केन्द्र दोलखाका सचिव कमल श्रेष्ठ, गौरीशङ्कर ३ का वडाअध्यक्ष युग बहादुर बस्नेत लगायतको उपस्थिती रहेको थियो ।