चरिकोट, २५ फागुन । दोलखा सदरमुकाम चरिकोटमा जारी प्रथम बागमती प्रदेश स्तरीय अन्तर पालिका सहिद रित बहादुर खड्का स्मृति भलिबल प्रतियोगिताको तेस्रो स्थान सिन्धुलीको कमलामाइ नगरपालिकाले जितेको छ ।
शुक्रबार विहान भएको प्रतिस्पर्धामा रामेछापको मन्थली नगरपालिकालाई ३–१ को सेटमा हराउँदै कमलामाइले तेस्रो स्थान ओगटेको हो । पहिलो सेटमा जित हासिल गरेको मन्थली नगरपालिका त्यसपछिका लगातार ३ सेटमा कमलामाइसँग स्तब्ध भयो ।
प्रतियोगिताको फाइनल खेल पनि शुक्रबार दिउँसो हुँदैछ । उपाधीका लागि दोलखाको जिरी नगरपालिका र सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका आमनेसामने हुँदैछन् ।
सहिद सप्ताहको अवसर पारेर दोलखा युवा सञ्जालले आयोजना गरेको प्रतियोगिताको बिजेता टोलीले २ लाख ५१ हजार र उपबिजेताले १ लाख ५१ हजार नगद पुरस्कार पाउनेछन् । त्यस्तै तेस्रो हुनेले ५१ हजार र सान्त्वना स्थान हासिल गर्ने टिमलाई २१ हजार नगद पुरस्कार प्रदान गरिनेछ ।