दोलखा, २९ असार । दोलखाको गौरिशङ्कर गाउँपालिका ९ स्थित रोल्वालिङ क्षेत्रमाअलपत्र परेका १४ जना पर्यटकहरुको हेलिकप्टर मार्फत उद्धार भएको छ ।
बाढी र पहिरोका कारण पदमार्ग अवरुद्ध भएपछि उनीहरुको हेलकप्टर मार्फत उद्धार भएको हो । पर्यटकको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर लिएर गौरीशङ्कर गाउँपालिकाका अध्यक्ष विश्वास कार्की आफै बेदिङ गाउँ पुगेका थिए । पर्यटकको उद्धारका लागि जाने क्रममा पदमार्ग टुटेका विकट बस्तीका नागरिकहरुका लागि चरिकोटबाट अत्यावश्यक खाद्यान्न सामाग्री समेत लगिएको थियो ।
यही असार २५ गते स्थानीय रोल्वालिङ खोलामा आएको बाढीले छ्योतछ्योत-सिमीगाउँ-च्छोरोल्पा-रोल्वालिङ पदमार्ग अन्तर्गत ठाउँठाउँमा क्षति पुर्याएपछि सो क्षेत्रमा घुम्नका लागि गएका पर्यटकहरु अलपत्र परेका थिए ।
सो विषयका सम्बन्धमा दोलखाबाट प्रतिनिधी सभाका सदस्य गङ्गा कार्की विश्वले संसद बैठकमा समेत ध्यानाकर्षण गराएका थिए ।