दोलखा, २३ साउन । गत साउन १७ गतेदेखि सुरु भएको विश्व स्तनपान सप्ताह दोलखाको मेलुङ गाउँपालिका १ पवटी स्थित स्वास्थ्य चौकीमा पनि मनाइएको छ ।
स्थानीय जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयं सेविका र हजार दिनभित्रका सुत्केरी आमाहरुको सहभागितामा विशेष कार्यक्रमका साथ सप्ताह मनाइएको हो । सो अवसरमा नियमित स्तनपानको महत्त्व, स्तनपान गराउँदाको सही आसन र सम्पर्क आदिका सम्बन्धमा चेतनामूलक सामाग्रि प्रदर्शन गरिएको थियो । मेलुङ गाउँपालिकाको सहयोग र समन्वयमा भएको कार्यक्रममा मेलुङ गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख हरिराम चापागाईं, वडा सदस्य कमल बुढाथोकी, पवटी उपस्वास्थ्य चौकीका इन्चार्ज उदिप ठाकुर लगायत सहभागि थिए । अगस्ट १ देखि ७ तारिकसम्म विश्वभर स्ज्ञतनपान सप्ताह मनाउने गरिएको छ । यस पटकको सप्ताहका लागि स्तनपानमा समानता, सबैको सहयोग र सहभागिता भन्ने मूल नारा तय गरिएको थियो ।
बच्चा जन्मिएपछि उसको शारीरिक तन्दुरुस्तीको लागि जति सक्दो चाँडो आमाको दूध (बिगौती दूध) खुवाउने, बच्चा जन्मेदेखि ६ महिना पूरा नहुन्जेल सम्म आमाको दूध मात्र खुवाउने एवं छ महिना पूरा भएपछि पनि थप पुरक खानाको साथ कम्तीमा २ वर्ष सम्म निरन्तर स्तनपान गराउनुपर्ने चिकित्सकहरु बताउँछन् । आमाको दूध बच्चाको लागि अमृत समान हुने र यसले शिशुलाई रोगसँग लड्ने रोग प्रतिरोधात्मक क्षमताको वृद्धि गर्ने उनीहरुको भनाइ छ । साथै नियमित स्तनपानले महिलाहरूको स्तन क्यान्सर र पाठेघरको क्यान्सर जस्ता प्राणघातक रोगको जोखिम कम गराउने विभिन्न अध्ययनहरुले बताएका छन् ।