सिङ्गटी, १४ मंसिर । दुर्गम गाउँमा बसेर महिला स्वास्थ्य स्वयंसेविका, सामुदायिक मेलमिलापकर्ता जस्ता सामाजिक अभियानमा जोडिइरहने दोलखाको गौरीशङ्कर गाउँपालिका वडा नम्बर ७ मार्बु शिक्पास्वरकी निमलेकी शेर्पा आफ्नो सामाजिक सेवालाई अब राजनीतिसँग जोडेर अगाडी बढाउने मार्गको करिव करिव अन्तिम खुड्किलोमा छिन् । त्यो खुड्किलो पार गर्न केही दिन भने कुर्नै पर्ने छ ।
गाउँका बालबालिकाहरुमा स्मार्ट शिक्षाको पहुँचदेखि स्वास्थ्य सेवामा गाउँलेहरुको सहज पहुँच पुर्याउन, युवाहरुलाई आत्मनिर्भर बनाइ गाउँमै सहज जीवनयापनको वातावरण सिर्जना गर्न, एवं खानेपानी, विद्युत, यातायात र सन्चारको सुविधाको दीगो विकास र पर्यटन प्रवर्धनका माध्यमबाट सिङ्गो गाउँपालिकाको मुहार फेर्न उपाध्यक्ष पदको निर्वाचनको दौडमा रहेकी उनी आफू विजयपथमा रहेको बताउँछिन् ।
आसन्न स्थानीय तह उपनिर्वाचनमा गौरीशङ्कर गाउँपालिकाको उपाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रको तर्फबाट उम्मेद्वार बनेकी शेर्पा आफ्नो जितको विषयलाई लिएर ढुक्क छिन् । “अहिलेसम्म गाउँमै बसेर, कसैलाई पनि कुनै पनि किसिमको भेदभाव नगरी समाजिक काममा अग्रसर छु,” शेर्पा भन्छिन्, “सामाजिक सेवालाई राजनीतिसँगै जोडेर अगाडी बढाउने यो अभियानमा मलाई सबैले साथ दिनुहुनेछ ।”


त्यसो त उमेरले ३८ वर्षकी निमलेकी शेर्पा आफैमा गाउँलेहरुको मनमुटुमा बस्न सफल नाम हो । बाल्यकालदेखि नै जीवनमा थुप्रै कठिनाइहरू झेल्दै गाउँकै सरस्वती प्रावि र हिमवर्ती माविबाट विद्यालय तहको शिक्षा पूरा गरेकी उनलाई धेरैले डोल्मा भनेर पनि चिन्छन् । परिवारको कमजोर आर्थिक अवस्थामा मल्हम लगाउन कलिलै उमेरमा परदेश समेत पुगेकी उनी परदेशबाट फर्किएर त्यहाँ सिकेको सिप गाउँकै सेवामा लगाउने निधो गरिन् । तत्पश्चात विभिन्न महिला समूह, आमा समूह र उपभोक्ता समूहमा संलग्न भएर, गाउँका महिलाहरूलाई आत्मनिर्भर बनाउने अभियानमा उनी सक्रिय भइन् । स्वास्थ्य, शिक्षा, सहकारी जस्ता विषयसँग जोडिएका कामहरूमा निमलेकी अग्रसर भएर लागि परिन् ।
समुदायप्रति सदैव समर्पित उनी २०७० सालदेखि महिला स्वास्थ्य स्वयंसेविकाको रुपमा सेवा गर्दै आएकी छिन् । स्वास्थ्य क्षेत्रमा उनको लगनशीलता र निःस्वार्थ सेवाले उनी आफ्नो गाउँ मात्र नभइ सिङ्गो गाउँपालिका भित्रै निकै लोकप्रिय समेत छिन् । कोभिड–१९ महामारीको समयमा खोपको पहुँच नपाएका गाउँलेहरूलाई खोपको व्यवस्था गराउनेदेखि स्वास्थ्य सम्बन्धी जनचेतना फैलाउने कार्यमा उनको महत्वपूर्ण भूमिका रहेको थियो । अहिले पनि गाउँठाउँमा हुने हरेक सामाजिक गतिविधिमा उनी सदैव अग्रसर नै हुन्छिन् ।
निमलेकी सामाजिक न्याय र सामुदायिक मेलमिलापको क्षेत्रमा पनि अगाडी हुने पात्र हुन् । गाउँठाउँमा हुने विभिन्न झैझगडा, विवाद जस्ता विषयको सहि निरुपणमा उनको भूमिका आज पनि उत्तिकै छ । यसले गाउँलेहरूलाई अदालती मुद्धा मामिलाको झमेलाबाट छुटकारा मात्रै मिलेको छैन, आपसी भाइचारा र एकता मजबुद बनाउन सहयोग पनि मिलेको छ ।
सिक्पाश्वर गाउँ गौरीशङ्कर गाउँपालिकाको मात्रै होइन, जिल्लाकै दुर्गम गाउँ हो । तर अहिले सिक्पाश्वरको मुहार फेरिएको छ । सिक्पाश्वरको मुहार फेर्ने क्रममा विशेषगरी गाउँमा विद्युतीकरणका लागि निमलेकी शेर्पाको भूमिकाको स्थानीयहरु मुक्तकण्ठले प्रशंसा गर्छन् । दुर्गम गाउँलाई उज्यालो बनाउन लघु जलविद्युत योजनाको सफल सञ्चालनका लागि बुकिनी विद्युत सहकारी संस्थाको गठनमा नेतृत्वदायी भूमिका निर्वाह गरेकी निमलेकी विद्युतका खम्बा बोक्ने र गाड्नेजस्ता कार्यमा समेत पुरुष सरह नै खटेकी थिइन् । उनकै पहलमा स्थापित बुकिनी विद्युत सहकारी संस्था सोही गाउँपालिकाको जनउपकार बचत तथा ऋण सहकारी संस्थासँग मर्ज भएपछि निमलेकी सहकारीको क्षेत्रमा थप सक्रिय बनिन् ।
निमलेकीले वैदेशिक रोजगारीबाट फर्किएर २०६७ सालमा नेकपा माओवादी केन्द्रको सदस्यता लिएर राजनीतिक यात्राको आरम्भ गरिन् । पार्टीभित्र, तत्कालीन मार्बु गाउँ कमिटी हुँदै अहिले उनी गौरीशङ्कर गाउँपालिका कमिटीको कोषाध्यक्ष र महिला संयोजकको जिम्मेवारीमा छिन् । २०७४ सालमा गौरीशङ्कर गाउँपालिका वडा नम्बर ७ को वडा सदस्यको निर्वाचनमा सहभागी भई राजनीतिक रङ्गमञ्चमा आफ्नो उपस्थितिको पृष्ठभूमि तयार गरेकी उनै निमलेकी अहिले गाउँपालिका उपाध्यक्ष पदको निर्वाचनमा होमिएकी छिन् । गाउँका बालबालिकाहरुमा स्मार्ट शिक्षाको पहुँचदेखि स्वास्थ्य सेवामा गाउँलेहरुको सहज पहुँच पुर्याउन, युवाहरुलाई आत्मनिर्भर बनाइ गाउँमै सहज जीवनयापनको वातावरण सिर्जना गर्न, एवं खानेपानी, विद्युत, यातायात र सन्चारको सुविधाको दीगो विकास र पर्यटन प्रवर्धनका माध्यमबाट सिङ्गो गाउँपालिकाको मुहार फेर्न उपाध्यक्ष पदको निर्वाचनको दौडमा रहेकी उनी आफू विजयपथमा रहेको बताउँछिन् ।
“अहिले गौरीशङ्करबासी आम जनसमुदाय सचेत हुनुहुन्छ, गाउँमै बसेर गाउँकै सेवा गर्ने र पाहुना उम्मेद्वारबीचको फरक राम्ररी छुट्याउनुहुन्छ,” उनी थप्छिन्, “मेरो विजयको आधार भनेकै म सदैव गाउँमै बसेर गाउँलेको सेवामा समर्पित हुन्छु र त्यो सबैले बुझ्नुभएको छ ।” गाउँमै बसेर यहाँका नागरिकको सुखदुखसँग नियमित प्रत्यक्ष साक्षात्कार गरिरहेकी निमलेकी शेर्पा परिश्रम, संघर्ष र साहसको पर्याय हो ।
