नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र विभिन्न दातृ निकायहरुको आर्थिक सहयोगमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यही माघ २२ गते (४ फेव्रुअरी २०२५ विश्व क्यान्सर दिवस) को दिन देखि फागुन ६ गते सम्म देश भरका सामुदायिक तथा निजी विद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने छात्राहरु र विद्यालय नजाने १० वर्ष देखि १४ वर्ष उमेरका किशोरीहरुलाई एच.पि.भी. (Human papilloma virus) विरुद्धको खोप अभियान सञ्चालन गर्दैछ ।
एच.पि.भी. के हो?
यो एक प्रकारको भाइरस हो,जसले मानिसको छालामा र जनानङ्गमा संक्रमण गर्न सक्छ । एच.पि.भी. विभिन्न प्रकारका हुन्छन् ,जसमा केही प्रकारले पाठेघरको मुखको क्यान्सर (Cervical Cancer) गराउनुको साथै अन्य स्वास्थ्य समस्याहरु पनि निम्त्याउन सक्छ । यो भाइरसलाई छोटकरीमा एच.पि.भी. भनिन्छ । यो भाइरस पटक पटक संक्रमण भएर २० वर्ष सम्म संक्रमण रहि रह्यो भने महिलाहरुको पाठेघरको मुखको क्यान्सर हुन सक्छ । एच.पि.भी. को संक्रमणको कारण विश्वमा हरेक वर्ष ५ लाख ७० हजार महिलालाई पाठेघरको मुखको क्यान्सर हुने र सन २०३० सम्ममा वार्षिक ७ लाख सम्म पुग्ने अनुमान गरिएको छ । यही रोगको कारण हरेक वर्ष ३ लाख ११ हजार महिलाहरुको मृत्यु हुने गरेको र सन २०३० सम्म ४ लाख महिलनहरुको मृत्यु हुने अनुमान गरिएको छ ।संसारमा लाग्ने विभिन्न क्यान्सर रोगहरु मध्य यो चौथो मुख्य क्यान्सर हो । न्यून र मध्यम आय भएका देशहरु जहाँ स्वास्थ्य शिक्षा प्रयाप्त पुगेको छैन ,त्यहाँ ८८ प्रतिशत यो रोगको सिकार हुने र मृत्यु हुने गरेको तथ्यांक छ ।


कस्ता हुन्छन् पाठेघरको मुखको क्यान्सरको लक्षण तथा चिह्नहरु?
एच.पि.भी.संक्रमण भएको सुरुको अवस्थामा कुनै लक्षण वा चिह्नहरु देखिदैन । यसको संक्रमण बढ्दै गएपछि भने निम्नानुसार लक्षण तथा चिह्नहरु देखा पर्दछन । यौन सम्पर्क पछि योनी बाट रगत आउने, तल्लो पेट दुख्ने , योनी बाट गन्हाउने पानी बग्ने, योनीबाट अनियमित रगत बग्ने र रगत धेरै बग्ने, जसका कारण रक्तअल्पता ९ ब्लझष्ब ० हुने र कमजोरी महसुस हुने जस्ता मुख्य लक्षण तथा चिन्हहरु देखिन्छ ।
नेपालमा पाठेघरको मुखको क्यान्सरको रोकथामको लागि ३ चरणको विधि अपनाइएको छ । पहिलो चरणमा यस वर्ष देशभरका विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्राहरु र विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरुलाई यो खोप दिइदैछ । दोस्रो चरणमा नेपालमा रहेका ३० देखि ४९ वर्ष उमेर समूहका प्रत्येक महिलाहरूको पाठेघरको मुखको परिक्षण (स्क्रिनिङ्ग) गराउने र तेस्रो चरणमा यो रोकथामको अन्तिम चरण हो, यो चरणमा पाठेघरको मुखको क्यान्सरको निदान भएका महिलाहरुको उपचार गर्ने ।
विश्व स्वास्थ्य संगठनले पाठेघरको मुखको क्यान्सरलाई जनस्वास्थ्य समस्याको रुपमा नरहेको अवस्थामा पुर्याएर आगामी दिनमा प्रती एक लाख महिलाहरुमा प्रती वर्ष ४ भन्दा कम संख्यामा सिमित राख्दै यो रोगको निवारण गर्ने लक्ष्य लिएको छ । एच.पि.भी. खोपको बारेमा भएको पछिल्लो अध्ययन अनुसार यो खोप एक मात्रा लगाएपछि पुनः अर्को मात्रा लगाउनु पर्दैन । राष्ट्रिय खोप सल्लाहकार समितिको २०८१ आश्विन २३ को सिफारिस अनुसार नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको २०८१ कात्तिक ८ गतेको निर्णय अनुसार यो खोप एक मात्रा लगाउने खोप तालिका सार्वजनिक गरेको छ । यदि विगतमा कुनै किशोरी वा छात्राले एक पटक एच.पि.भी. खोप लगाएको छ भने फेरि अर्को मात्रा लगाउनु पर्दैन ।
नेपालमा एच.पि.भी. खोप सेवा संचालन सर्वप्रथम ९ वर्ष अगाडि चितवन र कास्की जिल्लामा गरिएको थियो । त्यस बेला कक्षा ६ मा अध्ययन गर्ने छात्राहरु र विद्यालय नजाने १० वर्ष उमेरका किशोरीहरुलाई हरेक विद्यालयमा खोप सेवा संचालन गरि एच।पि।भी। खोप ६ महिनाको फरकमा २ पटक लगाइएको थियो । चितवन र कास्की जिल्लामा त्यतिबेला ती किशोरीहरु मध्य प्राय सबैले एच.पि.भी. खोपको दुबै मात्रा लगाएका थिए । नेपाल सरकारले त्यसै बेलादेखि यो खोपलाई देशभर विस्तार गर्ने लक्ष्य राखेको थियो तर विश्व बजारमा खोप प्रयाप्त परिमाणमा उपलब्ध नभएको र कोभिड १९ को महामारीको कारण सोचे अनुसार विस्तार हुन सकेन । गत वर्ष एच.पि.भी. सेवा नेपालका सातै प्रदेशका १ – १ वटा अस्पतालबाट १४ वर्ष उमेरका करिव १० हजार किशोरीहरुलाई ६–६ महिनाको फरकमा दुई मात्रा मात्रा एच.पि.भी. खोप दिइएको थियो भने यो वर्ष देशैभर अभियानको रुपमा संचालन हुँदैछ ।
विगतमा दुई मात्रा लगाए पनि पछिल्लो अध्ययन अनुसार एक पटक लगाउँदा पनि आवश्यकता अनुसार पूरा हुने देखिएकोले यस वर्ष बाट एक पटक मात्रै लगाउने भएको हो । खोप लगाउने लक्षित उमेर समुहका अधिकांश किशोरीहरु विद्यालयमा अध्ययन गर्ने हुँदा विद्यालयमा आधारित खोप सेवा संचालन गरि खोप लगाउँदा बढी प्रभावकारी हुने भएकोले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालयमा खोप केन्द्र राखि खोप लगाउने अवधारणा ल्याएको हो । यो वर्ष अभियानको रुपमा संचालन गर्ने आउँदो वर्ष देखि प्रत्यक वर्ष कक्षा ६ मा अध्ययन गर्ने छात्राहरुलाई नियमित खोप सेवा प्रदान गर्ने लक्ष्य राखेको छ ।
एच.पि.भी. खोप किशोरीहरुलाई महिनावारी भएको बेलामा पनि लगाउन सकिन्छ । महिनावारी हुने नहुनेमा यो खोपको कुनै भूमिका रहँदैन । यसले महिनावारीलाई छिटो, ढिलो वा अनियमित हुने जस्ता कुनै असर गर्दैन । यो खोप (सिकोलिन) नामको खोप हो, जुन दक्ष चिकित्सक वा स्वास्थ्यकर्मीद्वारा बायाँ हातको माथिल्लो भागमा मासु भित्र दिइन्छ ।
कस्तो अवस्थामा एच.पि.भी. खोप लगाउन सावधानी अपनाउनु पर्छ?
यदि धेरै ज्वरो आएको, कडा खालकोे रुघाखोकी लागेको वा अन्य कुनै गम्भीर प्रकृतिको संक्रमण भएको छ भने त्यस्तो अवस्थामा चाहिँ एच.पि.भी. खोप लगाउन केही समय पर्खनु पर्ने हुन्छ । यस्तो बेला शरीरको प्रतिरक्षा प्रणाली कमजोर हुन सक्छ, (जब शरीर कुनै संक्रमणसँग लडिरहेको छ भने यस्तो अवस्थामा खोपको प्रभावकारिता केही कम हुन सक्छ । त्यस्तै साइडइफेक्ट छुट्टयाउन गाह्रो हुन सक्छ (खोप लगाएपछि सामान्यतया कसै कसैलाई हल्का ज्वरो आउने, थकाई लाग्ने, मांसपेशी दुख्ने आदि हुन सक्छ, जुन खोपको कारण हो वा रुघाखोकी वा अन्य संक्रमणको कारण हो यकिन गर्न असजिलो हुन्छ । त्यसैगरी गम्भीर विरामी अवस्थामा यो खोप सिफारिस गरिदैन, (यदि ज्वरो, १०१ डिग्री फरेनहाइट भन्दा बढी छ भने त्यस्तो अवस्थामा चिकित्सकले खोप लगाउन सिफारिस नगर्न सक्छन् ।
त्यसो भए कहिले लगाउने त ? यदि सामान्य ज्वरो र हल्का रुघाखोकी मात्र छ भने चिकित्सकको सल्लाह लिएर खोप लगाउन सकिन्छ । यदि ज्वरो धेरै छ, कमजोरी महसुस भइरहेको छ वा कुनै गम्भीर संक्रमण छ भने निको भएपछि मात्र खोप लगाउनु राम्रो हुन्छ ।
एच.पि.भी. (सिकोलिन) खोप कुन अवस्थामा लगाउन हुँदैन?
लक्षित उमेर समूह बाहेक अन्य व्यक्तिले, गर्भवती र किशोरी महिलाले, विगतमा कुनै खोप लगाउँदा कुनै गम्भीर खालको एलर्जी प्रतिक्रिया भएको व्यक्ति र विगतमा कुनै खोप लगाउँदा एनाफाइलेक्सिस प्रतिक्रिया भएको व्यक्ति ।
एच.पि.भी. (सिकोलिन) गाएपछि कसै कसैलाई हुन सक्ने प्रतिकुल असरहरुः
यो खोप लगाएपछि सामान्य प्रतिकुल असरहरु देखा पर्न सक्छन । यो खोप लगाएको ठाउँमा हल्का सुन्निने,दुख्ने, रातो हुने, हल्का ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने ,रिगटा लाग्ने, मांसपेशी दुख्ने र थाकेको महसुस हुने, अलिअलि पेट दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने जस्ता सामान्य प्रती असरहरु देखा पर्न सक्छन्, तर यस प्रकारको असरहरु थोरै समय सम्म मात्र रहन्छन् र विस्तारै आफै ठिक हुन्छन् । अपवादमा बाहेक अन्य केही थप जटिल समस्या आइहालेमा दक्ष चिकित्सक खोप स्थानमा साथमै रहने हुनाले सबैले निर्धक्क सँग खोप लगाउन सक्छन् । यो खोप अत्यन्तै भरपर्दो र सुरक्षित छ । खोप निशुल्क पाइन्छ, यो अत्यन्तै महत्त्वपूर्ण अवसर हो, जसले जीवनभर पाठेघरको मुखको क्यानसर बाट बचाउँछ । त्यसैले लक्षित समूहका छात्राहरु र किशोरीहरु कोही पनि नछुटाई यो खोप लगाउन प्रेरित गर्नु तपाईं हामी सबैको साझा कर्तव्य हो ।
(जनतापेजकर्मी भुजेल, स्वास्थ्यकर्मी समेत हुन्)
