दोलखा, ३१ भदौ । दोलखाको विगु गाउँपालिका ६ आलम्पुमा मङ्गलबार भएको ट्रयाक्टर दुर्घटनामा एक जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन् ।
मृत्यु हुनेमा विगु ६ आलम्पुका ५५ वर्षका मकर थामी रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा सोही स्थानका ५७ वर्षका पहल बहादुर थामी, ३५ वर्षका कुबेर थामी र १५ वर्षका आशिष थामी घाइते भएका छन् । घाइते मध्ये पहल बहादुरको अवस्था गम्भिर रहेको छ । उनको दोलखा बजार स्थित धुलिखेल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक श्रीराम तिमल्सिनाले जनतापेजलाई जानकारी दिए । अन्य घाइते भने सामान्य उपचारपछि डिस्चार्ज भइसकेका छन् । प्रहरीका अनुसार मृतकको शवलाई पोष्टमार्टमका लागि चरिकोट तर्फ ल्याइदै छ ।
आलम्पुमा रहेको ढुङ्गाखानी तर्फ जाँदै गरेको प्रदेश १–०१००१ त ८८७२ नम्बरको खाली ट्याक्टर कच्ची सडकमा अनियन्त्रित भई सडकबाट करिव १५ मिटर तल खसेको थियो ।



