चरिकोट, साउन ९ । अविरल वर्षाका कारण दोलखाको गौरीशङ्कर गाउँपालिकाका विभिन्न बस्तीहरू बाढी तथा पहिरोबाट प्रभावित बनेका छन् । पछिल्ला दुई दिनयताको प्राकृतिक विपद्का कारण गाउँपालिकाको वडा नम्बर ८ र ९ मा गरी कम्तीमा १४ परिवार विस्थापित भएका छन् भने दर्जनौँ घरपरिवार अझै जोखिमपूर्ण अवस्थामा रहेका छन् ।
मङ्गलबार रातिदेखि परेको लगातार वर्षाले वडा नम्बर ९ अन्तर्गत मुलखर्कस्थित सिप्रिङ खोला जलविद्युत योजनाको बाँध क्षेत्रमा ठूलो पहिरो गएको थियो । उक्त घटनामा एक जना वृद्ध बेपत्ता भएका छन् । पहिरोका कारण आयोजनाको ड्याम पूर्णरूपमा क्षतिग्रस्त भएको छ भने विद्युत् उत्पादन अनिश्चितकालका लागि बन्द भएको छ । घटनास्थलमा फसेका आयोजनाका चार जना कर्मचारीलाई भने सुरक्षाकर्मी तथा स्थानीयवासीको सहयोगमा सकुशल उद्धार गरिएको छ ।
सोही रात वडा नम्बर ९ को टासीनाममा गएको पहिरोले पाँच परिवारलाई घरबारविहीन बनाएको छ । यस्तै, बुधबार वडा नम्बर ८ अन्तर्गत खारे खोलामा आएको बाढीले कटान गर्दा लोङाटा बस्तीका सात घरपरिवार विस्थापित भएका छन् । पालिकाकै सुसिङटारमा पनि थप दुई परिवारलाई सुरक्षित स्थानमा सारिएको गाउँपालिकाले जनाएको छ ।

प्रभावित परिवारहरूको राहत, व्यवस्थापन तथा पुनर्स्थापनाका लागि गौरीशङ्कर गाउँपालिकाले विशेष कार्यक्रम अघि बढाएको छ । गाउँपालिकाका अध्यक्ष विश्वास कार्कीका अनुसार प्रत्येक विस्थापित परिवारलाई तत्काल अस्थायी बसोबासका लागि आवश्यक खाद्यान्न, लत्ताकपडा तथा आवास निर्माण सामग्री उपलब्ध गराउन ५० हजार रुपैयाँ बराबरको सहायता प्रदान गरिनेछ ।
त्यसैगरी, स्थायी आवास निर्माणका लागि प्रत्येक परिवारलाई थप ३ लाख रुपैयाँ अनुदान उपलब्ध गराइने अध्यक्ष कार्कीले जानकारी दिए । उनका अनुसार प्राकृतिक विपद्को उच्च जोखिममा रहेको गौरीशङ्कर गाउँपालिकाले विगतदेखि नै जोखिम न्यूनीकरण तथा विपद् व्यवस्थापनलाई प्राथमिकतामा राख्दै विशेष कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
“विपद्को समयमा नागरिकलाई एक्लो महसुस हुन नदिने र उनीहरूको सुरक्षित पुनर्स्थापनाको सुनिश्चितता गर्नु स्थानीय सरकारको दायित्व हो,” अध्यक्ष कार्कीले भने, “गाउँपालिका प्रभावित परिवारको साथमा छ र आवश्यक सहयोगमा कुनै कमी हुन दिइने छैन ।”
अध्यक्ष कार्कीले बिहिबार वडा नम्बर ८ का अध्यक्ष दावा शेर्पा, वडा नम्बर ९ का अध्यक्ष निमगेली शेर्पा लगायत पत्रकार र सुरक्षाकर्मी समेतको सहभागितामा घटनास्थलको प्रत्यक्ष अवलोकन गरी राहत र पुनस्र्थापनामा कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाएका छन् ।


वर्षेनी बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्को जोखिम झेल्दै आएको गौरीशङ्कर गाउँपालिकाले गम्भीर अवस्थाका बिरामीलाई हेलिकोप्टरमार्फत काठमाडौं उपचारका लागि लैजानुपर्ने अवस्था आएमा हेलिकोप्टर भाडासमेत व्यहोर्दै व्यवस्था गर्दै आएको छ ।
प्राकृतिक विपद्को कठिन घडीमा प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनाका लागि गौरीशङ्कर गाउँपालिकाले चालेको कदम जिल्लामै उदाहरणीय मानिएको छ । स्थानीय तहले विपद् व्यवस्थापनलाई प्राथमिकतामा राखेर अघि बढाएको यस्तो पहलले प्रभावित समुदायमा आशा र भरोसा जगाएको स्थानीयवासीले बताएका छन् ।
यसवीचमा दोलखाबाट प्रतिनिधि सभाका सदस्य जगदिश खरेलले पनि लोङाटा क्षेत्रको अवलोकन भ्रमण गरी राहत र पुनर्स्थापनाका लागि पहल गर्ने आश्वासन दिएका छन् ।


