सिङ्गटी, साउन १४ — दोलखाको विगु गाउँपालिकामा खोलाले बगाउँदा एक महिला बेपत्ता भएकी छिन् ।
बिहीबार अपराह्न वडा कार्यालयबाट घर फर्कने क्रममा विगु गाउँपालिका वडा नम्बर २, पल्लो देउलाङकी पती तामाङलाई स्थानीय हार्चे खोलाले बगाएको हो । विगु २ का वडाध्यक्ष दीपक ठकुरीका अनुसार वडा कार्यालयमा काम सकेर करिब साढे ३ बजे घरतर्फ हिँडेकी तामाङलाई ४ बजेतिर खोलाले बगाएको बताइएको छ ।
घटनाका बेला उनी एक्लै भएको र स्थानीय काले तामाङले उनलाई खोलाले बगाएको देखेपछि तत्काल गाउँले र वडा कार्यालयलाई खबर गरेका थिए । सूचना प्राप्त हुनासाथ स्थानीयवासी, जनप्रतिनिधि तथा सुरक्षाकर्मीको समन्वयमा घटनास्थल आसपासका क्षेत्र तथा खोलाको तल्लो तटीय भागमा खोजी कार्य गरिए पनि बिहिबार फेला पार्न नसकिएको वडाध्यक्ष ठकुरीले जानकारी दिए । ठाडो खोलामा तीब्र वेगमा आएको लेदो सहितको बाढीका कारण उद्धार तथा खोजी कार्यमा चुनौती थपिएको वडाअध्यक्ष ठकुरीको भनाइ छ ।
बेपत्ता महिलाको शुक्रबार बिहानैबाट पुनः खोजीकार्य सुरू गरिनेछ ।


