भक्तपुर, १८ असार । गत चैत्रमा सम्पन्न माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा यसै साता सार्वजनिक हुने भएको छ ।
नतिजा लेटर ग्रेडिङ निर्देशिका २०७२ अनुसार नै सार्वजतिक गर्ने निर्णय बोर्डको सोमबारको बैठकले गरेको छ । उक्त निर्देशिका अनुसार विद्यार्थीले सैद्धान्तिक र प्रयोगात्मकको अङ्क जोडेर ३५ प्रतिशत ल्याए पास हुने व्यवस्था छ । २०७८ को नयाँ निर्देशिकामा भने विद्यार्थीले सैद्धान्तिक विषयमा अनिवार्य ३५ प्रतिशत अङ्क ल्याउनुपर्ने व्यवस्था छ । बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले यस पटकको परीक्षा पूरानै पाठ्यक्रम अनुसार सञ्चालन भएकाले नतिजा पनि पूरानै व्यवस्था अनुसार गर्ने निर्णय भएको जानकारी दिए ।
नतिजा प्रकाशनका लागि उत्तर पुस्तिका परिक्षण, समपरिक्षण, रुजु लगायतका काम सकेर कम्प्युटरमा नजिता प्रविष्ट गर्ने काम भइरहेको र कुनै प्राविधिक त्रुटि नभएमा बिहिबारसम्म नतिजा सार्वजनिक हुने बोर्डले जनाएको छ ।
गएको चैत्र १७ गतेदेखि सुरु भएको एसईई परीक्षामा देशभरका १२ हजार ८३ विद्यालयका चार लाख ८५ हजार ३ सय ९६ जना विद्यार्थीले २ हजार ३७ परिक्षा केन्द्रबाट परीक्षा दिएका थिए ।


