काठमाण्डौ, १८ असार । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले सोमबार राति १२ बजेटदेखि लागु हुने गरी वर्ग तोकोर मूल्य घटाएको हो ।
निगमले जारी गरेको विज्ञप्ति अनुसार पेट्रोल तथा डिजेल र मट्टितेलमा पहिलो, दोस्रो तथा तेस्रो वर्गका लागि क्रमशः प्रतिलिटर ७ रुपैयाँ ५० पैसा, ६ रुपैयाँ र ५ रुपैयाँले मूल्य घटाइएको छ । जसअनुसार पहिलो वर्गका चारआली, विराटनगर, जनकपुर, वीरगञ्ज, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, लगायतका क्षेत्रमा पेट्रोलको मूल्य १७५ रुपैयाँबाट घटेर १६७ रुपैयाँ ५० पैसा कायम भएको छ भने दोस्रो वर्गको सुर्खेत, दाङ लगायतका क्षेत्रमा १६९ रुपैयाँ तथा तेस्रो वर्गको काठमाण्डौ, पोखरा, दिपायल लगायतका क्षेत्रमा प्रति लिटर १७० रुपैयाँ कायम भएको छ ।
त्यस्तै डिजेल र मट्टितेलमा पहिलो वर्गमा १४७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १४९ रुपैयाँ र तेस्रो वर्गमा १५० रुपैयाँ मूल्य कायम भएको छ । यो मूल्य निगमको डिपो / कार्यालयबाट १५ किलोटरसम्मको क्षेत्रलाई आधार मानेर कायम गरिएको निगमद्वारा जारी विज्ञप्तिमा भनिएको छ । त्यस्तै आन्तरिक तर्फको हवाई इन्धनमा प्रतिलिटर १४ रुपैयाँ तथा अन्तर्राष्ट्रिय तर्फको हवाई इन्धनमा प्रति लिटर ०.११५ अमेरिकी डलरले कम गरिएको छ ।
भारतीय आयल कर्पोरेसन लिमिटेडबाट १६ असारमा प्राप्त भएको नयाँ खरिद मूल्य सूचीका आधारमा निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको हो । खाना पकाउने ग्यासको मूल्य भने स्थिर छ । निगमको विज्ञप्तिमा नेपाल सरकारद्वारा उपलब्ध गराइएको ऋण तथा मूल्य स्थिरीकरण कोष लगायतका अन्य दायित्वहरुको व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको भएपनि आम उपभोक्ताको हितलाई मध्यनजर गर्दै मूल्य समायोजन गरेको उल्लेख गरिएको छ ।



