बाघखोर, १० असार । दोलखाको शैलुङ गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटमा शिक्षा क्षेत्रलाई उच्च प्राथमिकता दिएको छ ।
गाउँपालिकाको १८ औँ गाउँसभामा सोमबार प्रस्तुत भएको कुल ६६ करोड ८० लाख बराबरको बजेटमा शिक्षा क्षेत्रका लागि झण्डै चार करोड अर्थात ३ करोड ६९ लाख ३१ हजार बजेट विनियोजन भएको हो । यो गत सालको भन्दा धेरै बजेट हो । शिक्षाका क्षेत्रमा प्रस्तावित योजनाहरूमा स्थानीय पाठ्यपुस्तक लेखनदेखि शिक्षक तथा विद्यार्थीलाई प्रोत्साहन र पुरस्कार, तालिम, अतिरिक्त कक्षा व्यवस्थापन, विद्यालयहरूलाई विभिन्न अनुदान, खेलकुद, शैक्षिक सम्मेलन, कक्षा ६–८ लाई दिवा खाजा जस्ता विषय समेटिएका छन् ।

यसैबीच, प्रस्तुत बजेटको कार्यान्वयन स्वरूप शैलुङ गाउँपालिकाले उत्कृष्ट सिकाइ उपलब्धी हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कृत गर्ने भएको छ । गाउँपालिकाको शिक्षा शाखाले मङ्गलबार एक सूचना जारी गरी शैक्षिक वर्ष २०८१ मा गाउँपालिका भित्रका विद्यालयहरूबाट कक्षा ५ को स्तर निर्धारण र कक्षा ८ को आधारभूत तह उत्तीर्ण परीक्षा उत्कृष्ट भएका विद्यार्थीको हकमा प्राप्त अङ्कको प्रतिशत र कक्षा १० को एसइइ र कक्षा १२ को एसएलसी परीक्षामा उत्कृष्ट विद्यार्थीको हकमा प्राप्त जिपिएलाई आधार मानेर पुरस्कृत गरिने जनाएको छ ।
शिक्षा शाखा प्रमुख सन्तोष दाहालका अनुसार कक्षा ५ बाट स्तर निर्धारण परीक्षामा सहभागि भइ ८० प्रतिशत देखि ८४.९९ प्रतिशत अङ्क प्राप्त गर्ने विद्यार्थीलाई ४ हजार, ८५ देखि ८९.९९ प्रतिशत ल्याउनेलाई ८ हजार र ९० प्रतिशत वा सो भन्दा बढी अङ्क ल्याउनेलाई १५ हजार नगद पुरस्कार दिइनेछ । त्यसैगरी कक्षा ८ को आधारभूत तह उत्तीर्ण परीक्षामा ८० प्रतिशत देखि ८४.९९ प्रतिशत अङ्क प्राप्त गर्ने विद्यार्थीलाई ५ हजार, ८५ देखि ८९.९९ प्रतिशत ल्याउनेलाई १० हजार र ९० प्रतिशत वा सो भन्दा बढी अङ्क ल्याउनेलाई २० हजार नगद पुरस्कार दिइनेछ ।
त्यसैगरी कक्षा १० (एसइइ) र कक्षा १२ (एसएलसी) परीक्षाका हकमा ३.६ देखि ३.७९ जिपिए प्राप्त गर्ने विद्यार्थीले १० हजार, ३.८ देखि ३.९९ जिपिए ल्याउनेलाई २० हजार र ४ जिपिए ल्याउनेलाई १ लाख नगद पुरस्कार प्रदान गरिने दाहालको भनाइ छ ।
विद्यार्थीहरूमा यो खालको प्रोत्साहनले अध्ययन प्रति लगाव बढ्ने र गाउँपालिकाको शैक्षिक गुणस्तर अभिवृद्धि हुने अपेक्षा गरिएको गाउँपालिका अध्यक्ष रिमालबाबु श्रेष्ठले जनतापेजलाई जानकारी दिए ।


