सुन्द्रावती, दोलखा–०९ जेठ । चौध बुँदे कालिका मावि घोषणापत्र जारी गर्दै नेपाल रेडक्रस सोसाइटी दोलखा शाखाद्वारा आयोजित ३० औँ जिल्ला स्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठि शनिबार सम्पन्न भएको छ ।
कालिन्चोक गाउँपालिका ९ कटुवाचौर स्थित कालिका माविमा शुक्रबारदेखि सुरू भएको गोष्ठिमा जिल्लाभरका ३२ ओटा माध्यमिक तथा आधारभूत विद्यालयका जुनियर तथा युवा रेडक्रस सर्कलका प्रतिनिधि र शिक्षक नायकहरूको सहभागिता रहेको थियो । गोष्ठिका सहभागिहरूलाई नेपाल रेडक्रस सोसाइटी दोलखा शाखाका सभापति भीम बहादुर केसी, निवर्तमान सभापनि इश्वरी दाहाल, प्रशिक्षक केशवप्रसाद सेढाई, इलाका प्रहरी कार्यालय सिङ्गटीका प्रमुख प्रहरी निरिक्षक विष्णुहरि फुँयाल, रक्तसन्चार केन्द्र दोलखाका गोकण प्रसाद पोखरेल, योग प्रशिक्षक रमेश थामी, केदारकुमार खड्का लगायतले रेडक्रस अभियान, जुनियर रेडक्रस, रक्तदान उत्प्रेरणा, जलवायु परिवर्तन, साइबर अपराध लगायतका विषयवस्तुमा सहजीकरण गरेका थिए ।

गोष्ठिले आगामी दिनमा विभिन्न पालिकामा विभिन्न रचनात्मक गतिविधि गर्ने र ३१ औँ जिल्ला स्तरीय गोष्ठि गौरीशङ्कर गाउँपालिका २ जुँगु स्थित निलकण्ठेश्वर माविको व्यवस्थापनमा गर्ने लागायतका १४ बुँदे कालिका मावि घोषणा पत्र जारी गरेको छ । घोषणा पत्र जारी तथा गोष्ठि समापन समारोहमा कालिन्चोक गाउँपालिकाका उपाध्यक्ष कुल बहादुर बुढाथोकीले सहभागिहरूलाइृ प्रमाणपत्र वितरण गरेका थिए । नेपाल रेडक्रस सोसाइटी दोलखा शाखाका सह–मन्त्री एवम् जुनियर युवा समिति संयोजक तामप्रसाद आपागाईंको अध्यक्षतामा सम्पन्न गोष्ठि समापन समारोहमा सभापति भीम बहादुर केसी, कालिन्चोक ७ का वडाध्यक्ष एवम् सामाजिक विकास शाखाका संयोजक राम बहादुर पाण्डे, भीमेश्वर नगरपालिका वडा नम्बर ४ का अध्यक्ष तारानाथ चौलागाईं लगायतको उपस्थिती थियो । गोष्ठि सम्पन्न गर्नका लागि भिनपा ४ ले आर्थिक सहयोग समेत गरेको रेडक्रस दोलखाले जनाएको छ ।


